हुम्ला : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत मूल्यमा उपलब्ध गराइने खाद्यान्नको कोटा थप गरेको छ। यसअघि सिमकोट शाखा र दुई डिपोबाट बिक्रीका लागि निर्धारण गरिएको कोटा सकिएपछि कम्पनीले दोस्रोपटक थप कोटा उपलब्ध गराएको हो।
सिमकोट शाखाका प्रमुख कृष्णबहादुर थापामगरका अनुसार, थपिएको सहुलियत मूल्यको कोटामा दुई हजार पाँच सय क्विन्टल खाद्यान्न, एक सय क्विन्टल चिनी र दुई हजार लिटर तेल समावेश गरिएको छ। बिक्री पनि शाखा र डिपोमा सुरु भइसकेको छ।
कम्पनीले सहुलियत पसलमार्फत गत भदौ ३० गतेदेखि चामल, तेल र चिनी बिक्री सुरु गरेको थियो। अहिलेसम्म दुई हजार ४०३ क्विन्टल खाद्यान्न, ४४.४९ क्विन्टल चिनी र २,२३९ लिटर तेल बिक्री भई १ करोड ८६ लाख १५ हजार ५३४ रुपैयाँ बराबरको कारोबार भएको छ।
शाखामा सात प्रकारका चामल उपलब्ध छन् र उपभोक्ताको माग अनुसार बिक्री भइरहेको छ। एकपटक उपभोक्ताले चारदेखि पाँच बोरा चामल लिन सक्ने व्यवस्था गरिएको छ।
साथै, अदानचुली गाउँपालिकाको डिपो कार्यालय, श्रीनगर, सर्केगार्ड गाउँपालिकाको डिपो र नाम्खा गाउँपालिकाको बिक्री केन्द्र याल्वाङबाट समेत सहुलियत पसलमार्फत खाद्यान्न बिक्री भइरहेको छ।
कम्पनीले चाडपर्व लक्षित गर्दै चामल र चिनीमा प्रतिकेजी ५ रुपैयाँ र तेलमा प्रतिलिटर ७ रुपैयाँ छुटको व्यवस्था पनि गरेको छ।