नवलपुर (नवलपरासी) : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले जिल्लाको देवचुली–१ स्थित शनिश्चरे तालमा विभिन्न प्रजातिका १६ हजार माछाका भुरा छोडेको छ। विश्व मत्स्य दिवसको अवसरमा राहु, नैनी र कमनजस्ता प्रजातिका माछाका भुरा तालमा रिहा गरिएको हो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. शर्मिला कुमालले जलीय जैविक विविधता प्रवर्द्धन, खाद्य र पोषण सुरक्षासहित पर्यटनसँग समन्वय गरी संरक्षणको उद्देश्यले माछाका भुरा छोडिएको जानकारी दिइन्। उनी अनुसार, स्थानीय प्रजातिका माछा प्राकृतिक रूपमा तालमा वृद्धि र हुर्किन सक्ने छन्।
मत्स्यविकास केन्द्र भण्डारा, चितवनमा हुर्काइएका माछाका भुरा तालमा छोडिएको हो। विगतमा नारायणी नदीमा माछाका भुरा छोडिँदै आएको भए पनि यसपटक मुख्य उद्देश्य संरक्षणसँगै पर्यटन प्रवर्द्धन रहेको डा. कुमालले बताइन्। “संरक्षणसँगै पर्यटकीय गतिविधि अघि बढाउँदा दिगो विकास सम्भव हुन्छ,” उनले भनिन्।
नेपालमा प्रत्येक जनाको लागि वार्षिक साढे २० किलो माछा आवश्यक परे पनि उत्पादन औसतमा तीन किलोभन्दा बढी हुन नसकेको डा. कुमालले उल्लेख गरिन्। माछापालक किसानहरूका अनुसार, देशभरै सबै सिजनमा उत्पादन सम्भव नभएकाले बजार अभाव हुने गरेको छ।
नवलपुरका मत्स्य व्यवसायी इन्द्रमणि भुसालले सरकारले माछापालकका लागि भुरामा अनुदान, दाना बनाउने मेसिन, अक्सिजन र पोखरी खन्न सहयोग प्रदान गर्दै आएको भए पनि पर्याप्त नभएको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij