काठमाडौँ : वसन्तपुरस्थित जीवित देवी श्रीकुमारीको वासस्थान (कुमारी घर)बाट चोरी गरिएको तोरण पुनःस्थापित गरिएको छ। मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले तोरण पुनःस्थापित गर्ने निर्णय गरेको थियो।
चोरी भएको तोरण विसं २०५६ सालमा संयुक्त राज्य बेलायतको बाराकाट संग्रहालयमा फेला परेपछि फिर्ता भई राष्ट्रिय संग्रहालय छाउनीमा सुरक्षित गरिएको थियो। पुनःस्थापना अघि उपप्रमुख डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा २३ का अध्यक्ष तथा महानगरको विधायन समितिका संयोजक मचाराजा महर्जन, कुमारी घरका संरक्षक गौतम शाक्यलगायत अधिकारीहरूले संग्रहालयमा पुगेर तोरण बुझ्न पत्रमा हस्ताक्षर र औँठाछाप लगाएर फिर्ता ल्याएका थिए।

तोरण बुझाउने क्रममा स्थानीयवासी र सम्पदा संरक्षणकर्मीले उल्लासपूर्वक सहभागिता जनाएका थिए।
कुमारी घरको भुइँ तलामा बायाँतर्फको पाँचौँ झ्याल माथि राखिएको अर्धगोलाकार काठको तोरण १७–१८ औँ शताब्दीमा निर्माण भएको हो। यसको लम्बाइ १०४.५५ सेन्टिमिटर छ र कुमारी बहाल राजा जयप्रकाश मल्लको शासनकाल (वि.सं. १८१४) मा निर्मित भएको बताइएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij