तम्घास (गुल्मी) : गुल्मी, स्याङ्जा र पाल्पालाई जोड्ने देशकै नमुना तीन मुखे झोलुङ्गे पुल निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि हस्तान्तरण हुन सकेको छैन । २०७१ सालमा शिलान्यास भएर तीन पटक म्याद थपेर तयार भएको पुल निर्माण व्यवसायीबीचको आन्तरिक विवाद कास्की अदालतमा चलिरहेकाले प्रक्रिया रोकिएको सस्पेन्सन ब्रीज डिभिजनले जनाएको छ ।
करिब ४० प्रतिशत रकम भुक्तानी पनि बाँकी रहेका कारण पुल अझै औपचारिक रूपमा सञ्चालनमा आउन नसकेको कार्यालयले बताएको छ । रुरुक्षेत्र–रिडी (गुल्मी), कारिकोट–चण्डिभञ्ज्याङ (स्याङ्जा) र अर्गली (पाल्पा) जोड्ने पुल अवलोकनका लागि विशेष चाडपर्वमा धेरै पर्यटक आउने गरेको स्थानीयले बताएका छन् ।