Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

गाडेका पोल ढल्न थालिसके, बत्ती बाल्ने काप्रेचौरवासीको सपना अधुरै

गाडेका पोल ढल्न थालिसके, बत्ती बाल्ने काप्रेचौरवासीको सपना अधुरै

सल्यान : कालिमाटी गाउँपालिका-७ काप्रेचौरमा विद्युत् प्राधिकरण सल्यानले २०७५ र २०७७ मा झन्डै ६ करोड खर्च गरी विद्युत् लाइन विस्तार गर्‍यो । लाइन विस्तार योजना सकिएको पाँच वर्ष पुग्यो, बत्ती बाल्ने काप्रेचौरवासीको सपना अधुरै छ । बरु गाडेका पोल ठाँउठाँउमा ढल्न थालिसकेका छन् ।

सबस्टेसन तथा कुन स्थानबाट बत्ती जोड्ने भन्ने तयारी नगरी राजनीतिक दबाबमा लाइन विस्तारको काम भएको थियो । प्रसारण लाइनको टुंगो नलाग्दा र जिल्ला पूर्ण विद्युतीकरण कार्यक्रमअन्तर्गत ठेक्काको कामले निरन्तरता नपाउँदा गाडेका पोल ढल्न थालेका छन् । बत्ती नपुगेपछि काप्रेचौरका ५ सयभन्दा बढी परिवार पूर्ण रुपमा प्रभावित भएका छन् ।

काप्रेचौरवासीले सम्बन्धित निकायमा पुगेर पटकपटक दबाब दिनुका साथै दुई साताअघि मात्रै कालिमाटी गाउँपालिकामा धर्ना बसेका थिए । पोल गाडेर तार तानेको धेरै वर्ष भइसक्दा पनि अहिलेसम्म बत्ती बाल्ने सम्भावना नदेखिएको घुइयाबारीका पूर्णबहादुर बोहराले बताए । 'सौर्य टुकीको भर पर्दै आएका छौं,' उनले भने, 'सुर्खेत क्षेत्रबाट लाइन जडान गर्ने भनी पाँच वर्षअघि पोल गाड्ने र तार तान्ने काम गरियो । भौगोलिक विकटताका बाबजुद पनि निर्माण कम्पनीले तोकेको समयमै लाइन विस्तारको काम सम्पन्न गरे । प्रसारण लाइन टाढा भएको भन्दै प्राधिकरणले सुर्खेत क्षेत्रबाट जोड्न सकेन ।' उनका अनुसार कालिमाटी गाउँपालिका-४ डिमुरेमा सबस्टेसन निर्माणको काम भइरहेको छ । त्यसले पूर्णता पाउन सकेको छैन । जिल्ला पूर्ण विद्युतीकरण कार्यक्रमअन्तर्गत कालिमाटी-६ बाट प्रसारण लाइन जोड्ने भनिए पनि निर्माणको काम रोकिएकाले बत्ती बाल्न पाउने सपना पूरा नभएको उनको भनाइ छ ।

गाडेका पोल ढल्न थालेका र तारसमेत चुँडिएकाले सरकारी बजेटको दुरुपयोग भएको स्थानीय निर्मला सुनारले बताइन् । 'यहाँको स्वास्थ्यसंस्थामा प्रसूति सेवा सञ्चालनमा आएको छ । तर सोलारले राम्रोसँग काम नगर्दा स्वास्थ्यकर्मी रातको समयमा मोबाइल बालेर सुत्केरी गराउन बाध्य छन्,' उनले भनिन् ।

सम्बन्धित निकाय गैरजिम्मेवार बनेकै कारण गाडेका पोल ढल्न थालिसकेको कालिमाटी-७ का अध्यक्ष मित्रलाल रिजालले बताए । बत्ती बाल्न बारम्बार माग राख पनि सम्बन्धित निकायले विभिन्न बहाना बनाएर टार्दै आएको उनको भनाइ छ । ‘बत्ती नभएका कारण वडा कार्यालयबाट हुने कामकाज, स्वास्थ्य चौकीले दिने सेवा प्रभावित हुने गरेका छन्,’ उनले भने, 'सबस्टेसनको काम समयमै सम्पन्न हुन नसकेपछि विकल्पका रुपमा कालिमाटी-६ बाट प्रसारण लाइन तान्ने भने पनि त्योसमेत सफल हुन सकेन ।'

प्राधिकरण सल्यानका प्रमुख दिनेश पौडेल सबस्टेसन निर्माणको काम समयमै सम्पन्न नभए पनि अहिले एआईआईबी परियोजनाअन्तर्गत काप्रेचौरमा प्रसारण लाइन विस्तारको काम भइरहेको बताए । कालिमाटी-६ छरछरेबाट लाइन जडान गरेर यही आर्थिक वर्षमा काप्रेचौरका सबै बस्तीमा बत्ती बाल्ने उनको भनाइ छ । पाँच वर्षअघि गाडेका पोल ढल्न थालेकाले कार्यालयले नै मर्मत गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट