Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

चौधरी ग्रुपले एक वर्षमा २५.५९ अर्ब कर तिर्‍यो, पाँच वर्षमा राजस्व योगदान ९२ अर्ब नाघ्यो

चौधरी ग्रुपले एक वर्षमा २५.५९ अर्ब कर तिर्‍यो, पाँच वर्षमा राजस्व योगदान ९२ अर्ब नाघ्यो

काठमाडौं  :  चौधरी ग्रुपले आर्थिक वर्ष ०८१/८२ मा २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेर राष्ट्रको कुल राजस्वमा २ प्रतिशतभन्दा बढी योगदान गरेको छ।

राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि र लगानीमा चुनौतीका बाबजुद पनि कम्पनीले गत वर्षको तुलनामा कर राजस्वमा उल्लेखनीय वृद्धि गरेको हो। ०८०/८१ मा १८.५२ अर्ब कर तिरेको चौधरी ग्रुपले यो वर्ष करिब ७ अर्ब रुपैयाँले कर भुक्तान बढाएको छ।

पछिल्ला पाँच वर्षमा ग्रुपले सरकारले जम्मा ९२ अर्ब २६ करोड रुपैयाँ कर असुल गरेको बताएको छ। कमजोर आर्थिक गतिविधि, आयात–निर्भरता, नीतिगत अनिश्चितता तथा निजी क्षेत्रका अवरोधबीच पनि ग्रुपले नियमित रूपमा कर वृद्धि गर्दै आएको जनाएको छ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कम्पनीले पुराना तथा नयाँ व्यवसाय विस्तारमार्फत राजस्व योगदान बढाइरहेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखे, “माननीय अर्थमन्त्रीले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गर्नु भएकोमा आभारी छौँ। चुनौतीपूर्ण अवस्थामाझ पनि २५.५९ अर्ब कर तिरेर राष्ट्रको ढुकुटी मजबुत बनाउन पाउनु गौरवको विषय हो।”

नेपालमा व्यवसायीक समूहहरूको एकमुष्ट कर विवरण छुट्टै वर्गीकृत गरी सार्वजनिक गर्ने परम्परा स्थापित नभएकाले करदाताको योगदानबारे भ्रम सृजना हुने गरेको छ। चौधरी ग्रुपले भने प्रत्येक वर्ष आफ्नो कर विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ, जसले व्यावसायिक क्षेत्रको भूमिका स्पष्ट गर्न र राज्यलाई पारदर्शी कर प्रणाली विकास गर्न प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij