Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

खाडी र मलेसियास्थित नेपाली श्रमिकका समस्या समाधानका लागि समन्वयात्मक बैठक सम्पन्न

खाडी र मलेसियास्थित नेपाली श्रमिकका समस्या समाधानका लागि समन्वयात्मक बैठक सम्पन्न

काठमाडौँ : खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानका विषयमा समन्वयात्मक बैठक सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को संयुक्त सहकार्यमा सञ्चालित ‘आप्रवासी अधिकार र मर्यादित काम चरण–२’ कार्यक्रम अन्तर्गत उक्त बैठक बालुवाटारस्थित एनआरएनए सचिवालयमा आयोजना गरिएको हो।

बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग, वैदेशिक रोजगारसम्बन्धी निकाय, श्रमिक सङ्गठन, विज्ञ र नीति अनुसन्धानकर्तासहित ३० भन्दा बढी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले खाडी मुलुक र मलेसियामा रहेका नेपाली श्रमिकले सामना गरिरहेका तलब तथा सुविधा नपाउने, द्विपक्षीय सम्झौता उल्लङ्घन, स्वास्थ्य र सुरक्षाका चुनौती, सामाजिक सुरक्षाको अभावलगायत विषयमा आ–आफ्नो धारणा राखे।

बैठकले श्रमिक अधिकार सुनिश्चित गर्न र वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई सुरक्षित तथा सम्मानजनक वातावरण सृजना गर्न सबै सरोकारवालाबीच सहकार्य सुदृढ गर्ने निष्कर्ष निकालेको छ। साथै, आगामी दिनमा नीतिगत सुधार र श्रमिक हकहित संरक्षणका लागि संयुक्त कार्ययोजना तयार गर्ने प्रतिबद्धता जनाएको छ।

फरक प्रसङ्गमा, एनआरएनएका अध्यक्ष डा. बद्री केसीले वैदेशिक रोजगारमा रहेका नेपालीलाई संविधानले ग्यारेन्टी गरेको अधिकार र सेवा सुविधा उपलब्ध गराउन सरकारले ढिलाइ गर्न नहुने बताउँदै, सरोकारवालाहरूले यसमा सरकारलाई निरन्तर सचेत गराउनुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij