Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

https://saurahaonline.com/media-file/images/2026/10/1791784886-eabRS.jpg

६ हजार मिटरमाथि पहिरो, स्यार खोलामा प्राकृतिक बाँध बनेको आशंका

६ हजार मिटरमाथि पहिरो, स्यार खोलामा प्राकृतिक बाँध बनेको आशंका

काठमाडौं : गोरखाको बूढीगण्डकी नदीमा आएको असामान्य बाढीको स्रोत समुद्री सतहबाट ५ हजार ५०० देखि ६ हजार ५०० मिटर उचाइको हिमाली क्षेत्रमा रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । उच्च हिमाली क्षेत्रमा गएको पहिरो वा हिमपहिरोका कारण स्यार खोलामा प्राकृतिक बाँध बनेको र त्यसपछि पानीको आकस्मिक बहाव आएको हुन सक्ने निष्कर्ष जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले निकालेको छ । केन्द्रले आइतवार राति सार्वजनिक गरेको ‘स्थिति प्रतिवेदन-१’ अनुसार उच्च हिमाली क्षेत्रबाट खसेको पहिरो वा हिमपहिरोले ३ हजार ५०० मिटरभन्दा बढीको ठाडो उचाइ पार गर्दै स्यार खोलानजिकको तल्लो भूभागसम्म प्रभाव पारेको देखिएको छ । बाढीको वास्तविक कारण भने विस्तृत अध्ययनपछि मात्रै पुष्टि हुने केन्द्रले जनाएको छ ।

स्यार खोलाबाट प्रारम्भ भएको थियो बाढी

केन्द्रका अनुसार असोज २५ गते बिहान करिब ६ बजे गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जेनजिक बूढीगण्डकीको सहायक नदी स्यार खोलाबाट असामान्य बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको थियो । उपलब्ध प्रारम्भिक सूचना र भू–उपग्रह तस्बिरको विश्लेषण गर्दा हिमाली क्षेत्रमा गएको पहिरोले स्यार खोला थुनिएर अस्थायी अवरोध वा प्राकृतिक बाँध बनेको हुन सक्ने देखिएको छ । त्यससँगै थुनिएको पानी एक्कासि बगेपछि बाढी आएको हुन सक्ने केन्द्रको आकलन छ । स्यार खोला बूढीगण्डकीको सहायक नदी हो । यस क्षेत्रमा उत्पन्न बाढीले तल्लो तटीय भूभागमा समेत प्रभाव पारेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

५ हजार मिटरभन्दा माथिबाट सुरु भएको थियो पहिरो

प्रतिवेदनअनुसार बाढीको सम्भावित स्रोत क्षेत्र समुद्री सतहबाट ५ हजार ५०० देखि ६ हजार ५०० मिटरको उचाइमा रहेको छ । उक्त क्षेत्रबाट पहिरो वा हिमपहिरो सुरु भएर तलतिर खस्दै २ हजारदेखि २ हजार ८०० मिटर उचाइमा रहेको स्यार खोलानजिक पुगेको देखिएको छ । बूढीगण्डकी र स्यार खोलाको तल्लो उपत्यका समुद्री सतहबाट करिब १ हजार ४०० देखि २ हजार ८०० मिटरको उचाइमा पर्छ । यस क्षेत्रमा चुम्चेत, चुम्लिङ, रिप्चेत र च्याउलजस्ता बस्ती रहेका छन् । केन्द्रका अनुसार यस क्षेत्रको माथिल्लो भागमा रहेका हिमाली चुचुराहरू ५ हजार ६०० मिटरदेखि ७ हजार मिटरभन्दा माथिसम्म फैलिएका छन् । यस्तो भौगोलिक बनावट र उच्च हिमाली क्षेत्रमा भएको परिवर्तनले बाढीको सम्भावित स्रोत पहिचान गर्न महत्त्वपूर्ण आधार दिएको छ ।

स्याटेलाइट तस्बिरमा देखियो हिमाली क्षेत्रमा ठूलो परिवर्तन

केन्द्रले युरोपेली अन्तरिक्ष एजेन्सीको सेन्टिनेल–२ भू–उपग्रहबाट प्राप्त अक्टोबर ६ र ११ का तस्बिर विश्लेषण गर्दा उत्तरी हिमाली क्षेत्रमा उल्लेखनीय परिवर्तन देखिएको जनाएको छ । अक्टोबर ६ को तस्बिरमा मुख्य खोँच र डाँडाहरूमा चट्टानी ढलान, रातो वनस्पति तथा छरिएको हिमपात देखिएको थियो । तर अक्टोबर ११ को तस्बिरमा भने माथिल्लो हिमाली भागमा व्यापक नयाँ हिमपात र त्यहाँबाट तलतिर बगेको गाढा कालो धब्बा तथा बहावको रेखा देखिएको केन्द्रले उल्लेख गरेको छ । प्रतिवेदनअनुसार यस्तो दृश्यले माथिल्लो क्षेत्रमा ठूलो हिमपहिरो वा चट्टान तथा लेदोसहितको पहिरो गएको सम्भावनालाई बल पुर्‍याउँछ । तीव्र बहावका क्रममा माटो, चट्टान र वनस्पति बगाएर लगिएको हुन सक्ने पनि केन्द्रको विश्लेषण छ ।

गेग्य्रान थुप्रिँदा नदीको बहाव रोकिएको हुन सक्ने

भू–उपग्रह तस्बिरको विश्लेषणमा पहिरोबाट बगेको लेदो तथा गेग्य्रान चुम्लिङ र रिप्चेतनजिक मुख्य नदीको दोभानमा पुगेर थुप्रिएको देखिएको केन्द्रले जनाएको छ । त्यहाँ थुप्रिएको गेग्य्रानले केही समयका लागि नदीको प्राकृतिक बहावमा अवरोध पुर्‍याएको वा पानी थुनेको हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । यस्तो अस्थायी अवरोधपछि पानी एक्कासि बग्दा तल्लो क्षेत्रमा ठूलो बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, पहिरोको प्रकृति, पानी थुनिएको अवस्था र बाढी उत्पन्न हुनुको वास्तविक कारणबारे अन्तिम निष्कर्षमा पुग्न थप अनुसन्धान आवश्यक रहेको केन्द्रले स्पष्ट पारेको छ ।

थप अध्ययन भइरहेको छ

केन्द्रले घटनाको मूल कारण पुष्टि गर्न भू–आकृतिक अवस्था, भू-उपग्रह तस्बिर र उपलब्ध अन्य तथ्यको थप विश्लेषण गरिरहेको जनाएको छ । त्यसैले अहिलेको निष्कर्षलाई प्रारम्भिक अध्ययनका रूपमा बुझ्नुपर्ने हुन्छ । उच्च हिमाली क्षेत्रमा भएको सम्भावित पहिरो वा हिमपहिरो, स्यार खोलामा बनेको अस्थायी प्राकृतिक बाँध र त्यसपछि आएको आकस्मिक बहावबीचको सम्बन्ध पहिचान गर्नु नै थप अनुसन्धानको मुख्य उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij