Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

जेनजीका मुद्दा र आकांक्षा सम्बोधन गर्ने ‘नेपाली कम्युनिस्ट पार्टी’को प्रतिबद्धता

जेनजीका मुद्दा र आकांक्षा सम्बोधन गर्ने ‘नेपाली कम्युनिस्ट पार्टी’को प्रतिबद्धता

काठमाडौं  : जेनजी आन्दोलनसँगै पार्टी पुनर्गठन र रुपान्तरणको लहर चलेका बेला पुराना १० वटा कम्युनिस्ट पार्टी/घटकहरु एकीकृत हुँदै ‘नेपाली कम्युनिस्ट पार्टी’को घोषणा गरेका छन् ।

बुधबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपाको चिरन पुन समूह, नेकपा (समाजवादी माओवादी), नेकपा साम्यवादी, देशभक्त मोर्चा लगायत राजनीतिक पार्टी र समूह एकीकृत हुँदै ‘नेपाली कम्युनिस्ट पार्टी’का रुपमा रुपान्तरण भएका हुन् ।

एकीकृत पार्टीका संयोजक पूर्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक पूर्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तोकिएका छन् ।एकीकृत पार्टीको एकता सभालाई नै राष्ट्रिय सम्मेलनका रुपमा घोषणा गरिएको कार्यक्रममा नवगठित पार्टीको घाषणापत्र र विधान समेत सार्वजनिक गरिएको छ ।

सम्मेलनमा सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका नेताहरुले नेपालको कम्युनिस्ट आन्दोलन, पार्टीहरुको अवस्था, जेनजी आन्दोलन, नेपाली जनताको आकांक्षालाई सम्बोधन गर्न नयाँ पार्टीले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे । साथै, उनीहरुले नयाँ पार्टीलाई क्रान्तिकारी पार्टीका रुपमा विकास गर्दै मुलुकमा समाजवाद हुँदै साम्यवादको दिशातर्फ लैजाने दाबी समेत गरे । पार्टी एकता घोषणा कार्यक्रममा पार्टीका तर्फबाट २३ बुँदे प्रतिवद्धता व्यक्त गरिएको छ । जसमा जेनजी आन्दोलनका माग र आकांक्षा पूरा गर्न पार्टीले प्रतिवद्धता जनाएको छ ।

‘जेनजी पुस्ताका मुद्धा र आकांक्षाको सम्बोधन गर्न प्रतिबद्ध रहने’, २३ बुँदे प्रतिवद्धतामा भनिएको छ, ‘नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र स्वतन्त्रता अक्षुण्ण राख्न दृढतापूर्वक लागिरहने ।’

राष्ट्र र जनताप्रति इमानदार, निष्ठावान् र समर्पित भई काम गर्ने प्रतिवद्धता जनाएको उक्त पार्टीले मार्क्सवाद–लेनिनवादका सार्वभौम सच्चाइहरूप्रति दृढ रहँदै तिनलाई नेपालको विशिष्ट परिस्थिति अनुरूप सिर्जनात्मक ढङ्गले लागु गर्ने जनाएको छ ।

‘समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिबद्ध रही नेकपाले आफ्नो स्थापनाकालदेखि राख्दै आएको वैज्ञानिक समाजवाद स्थापनाको महान् लक्ष्य प्राप्त गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने’, नेपाली कम्युनिस्ट पार्टीले भनेको छ, ‘लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहने र जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै गणतन्त्रको सुदृढीकरण र राज्यका सबै अङ्गमा आवश्यक सुधार एवम् पुनर्संरचना गर्न अग्रसर हुने ।’

त्यस्तै, नेपालको वर्तमान संविधानको रक्षा गर्दै शासकीय स्वरूप र निर्वाचन प्रणाली, सङ्घीयताको सबलीकरण तथा स्थानीय तह र जप्रतिनिधिको सङ्ख्या घटाउनेलगायत विषयमा अग्रगामी परिमार्जन गर्न तत्पर रही पहल गर्ने उक्त पार्टीले प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij