काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले आफूहरू कुनै सर्तबिना नेकपा एमालेमा फर्किन तयार रहेको बताएका छन्।
बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेता श्रेष्ठले नेतृ रामकुमारी झाँक्री लगायतका स्थायी कमिटी सदस्यसहितको टोली एमालेमा फर्किने अभियानमा रहेको जानकारी दिएका हुन्।
उनले आफ्नो मूल घर एमालेमै फर्किन चाहेको स्पष्ट पार्दै आफूहरू कुनै पदको लोभमा नभएको जिकिर गरे। उनले भने, ‘हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा फर्किने अभियानमा छौँ।’
नेता श्रेष्ठले आफूहरू नि:सर्त घर फर्किँदै गरेको र एमाले नेताहरूले आफूहरूलाई हाँसेर बोलिदिए र सम्मानजनक व्यवहार गरिदिए मात्रै पुग्ने बताए।
एकीकृत समाजवादीले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने निर्णय गरेपछि तथा पार्टीका महासचिव र सम्मानित नेताहरूले अर्को पार्टी पुनर्गठन गर्ने प्रक्रिया अगाडि बढाएपछि आफूहरू कसैसँग समाहित नभई सिधै एमालेको मूल घर फर्किन चाहेको उनको भनाइ छ।
श्रेष्ठले थपे, ‘हामी कुनै पदको लागि होइन, निःसर्त घरमा फर्किँदै छौँ। हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए र सम्मानजनक व्यवहार गरिदिए पुग्छ।’
उनले एमालेसँग वार्ता र संवाद भइरहेको समेत जानकारी गराए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij