काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्चस्तरीय जाँचबुझ आयोगले सोधपुछका लागि नख्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालयमा लगिएको छ।
गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको आयोगले जेन–जेड आन्दोलनका क्रममा लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न उनलाई बुधबार बोलाएको हो।
कारागार स्रोतका अनुसार आयोगको निर्देशनपछि उनलाई बिहानै कारागारबाट हिँडाइएको हो। आयोगले आजै लामिछानेसँग प्रत्यक्ष बयान लिने तयारी गरेको छ।
रवि लामिछाने सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन्। २४ भदौमा उनी असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए। त्यसबेला कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामाथि प्रश्न उठेको थियो।
त्यसपछि लामिछाने पुनः कारागार फर्किएका थिए। जाँचबुझ आयोगको टोली गत सोमबार सो घटनाको वस्तुस्थिति बुझ्न नख्खु कारागार पुगेको थियो। आयोगले त्यसअघि कारागार प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij