Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

सौर्य र विन पावर प्रवर्धनमा जोड, वैकल्पिक ऊर्जामा निजी क्षेत्रलाई सहभागी हुन मन्त्री घिसिङको आह्वान

सौर्य र विन पावर प्रवर्धनमा जोड, वैकल्पिक ऊर्जामा निजी क्षेत्रलाई सहभागी हुन मन्त्री घिसिङको आह्वान

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा रूपान्तरण गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले विद्युतीय गाडीको प्रयोग बढिरहेको र भान्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरी इन्डक्सन चुलो तथा वैकल्पिक ऊर्जाको प्रवर्धनका लागि थप काम गर्न बाँकी रहेको बताउनुभयो ।

मन्त्री घिसिङले अहिले चार्जिङ स्टेसनको सहजीकरणका लागि नीति संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो । सिँचाइ क्षेत्रमा सौर्य ऊर्जाको प्रभावकारी प्रयोगका लागि कार्ययोजना तयार भइरहेको बताउँदै उहाँले सौर्य प्रविधिको प्रवर्धन सरकारको नीति भएको स्पष्ट पार्नुभयो ।

हावाबाट बिजुली उत्पादन गर्ने प्रविधि (विन पावर) विकास गर्न सरकारको ध्यान गएको उल्लेख गर्दै मन्त्री घिसिङले निजी क्षेत्रलाई यस क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “विन पावरमा कोही चाहना राख्छ भने सरकारले सहयोग गर्छ ।”

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले विकट क्षेत्र र विपन्न परिवारका लागि पुर्‍याएको योगदानको प्रशंसा गर्दै मन्त्री घिसिङले वैकल्पिक ऊर्जाको कार्यक्षेत्र अझ विस्तार र प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा ऊर्जा सचिव चिरञ्जीवी चटौतले केन्द्रले जलवायु परिवर्तनको असर न्यूनीकरण, ऊर्जा दक्षता वृद्धि र कार्बन उत्सर्जन कटौतीमा ठुलो योगदान पुर्‍याएको उल्लेख गर्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले सौर्य ऊर्जा, सिँचाइ, खानेपानी र सुधारिएको चुलो क्षेत्रमा प्रभावकारी रूपमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार आठ वटा कार्बन उत्सर्जन कटौती परियोजनाबाट ३६ मिलियन अमेरिकी डलर आम्दानी गर्न सफल भएको छ ।

हाल केन्द्रले १३६ स्थानीय तहसँग साझेदारीमा काम गरिरहेको र आगामी पाँच वर्षभित्र १० लाख घरधुरीमा वैकल्पिक ऊर्जाको पहुँच पुर्‍याउने लक्ष्य राखिएको ढकालले बताउनुभयो । “यसबाट हालसम्म ४० हजार रोजगारी सिर्जना भएको छ,” उहाँले थप्नुभयो ।

कार्यक्रममा मन्त्री घिसिङले सौर्य तापीय मार्गचित्र तथा कार्यान्वयन योजना सार्वजनिक गर्नुभयो । वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट