Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रधानमन्त्री कार्की र मेयर बालेनबीच युवाकाे माग र कानुन सन्तुलनको बहस

प्रधानमन्त्री कार्की र मेयर बालेनबीच युवाकाे माग र कानुन सन्तुलनको बहस

काठमाडौं :  काठमाडौं मेयर बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीलाई हालै दुईपटक भेटेर सरकारमाथि दबाब दिन सुरु गरेका छन्। यसअघि संघीय सरकारका प्रमुखसँग भेट्न आनाकानी गरेका बालेन यसपटक आफ्ना चार मुख्य मागसहित बालुवाटार पुगेका थिए।

बालेनले उठाएका चार प्रमुख माग यस प्रकार छन्:

१.  जेनजी आन्दोलनका बेला दमनको निर्देशन दिने तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल गिरफ्तार गर्नुपर्ने।

२.  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईलाई नियन्त्रणमा लिनुपर्ने।

३.  सरकारका मन्त्रीहरूको कार्यक्षमता र गति सुधार्दै जेनजी तर्फको मन्त्री चयनको छिटो निर्णय।

४.  गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीमा सुधार र सम्भावित प्रतिस्थापनका बारेमा ध्यान दिनुपर्ने।

प्रधानमन्त्री कार्कीले बालेनको प्रस्तावलाई कानुन र आन्दोलनको भावना दुवै सन्तुलनमा राखेर अघि बढाउनुपर्ने बताएका छन्। कार्कीले भनेकी थिइन्, “ओली, लेखक वा अरु कोहीमाथि कारबाही गर्न गौरीबहादुर कार्की आयोगले काम गरिरहेको छ, त्यसलाई पहिले जाँचबुझ गर्न दिऔँ।”

स्रोतका अनुसार बालेनले सरकारको तयारी फितलो भएको, दुर्गा प्रसाई र उनका समूहले आन्दोलन चर्काउने संकेत दिएका कारण तत्काल निगरानी र नियन्त्रण आवश्यक रहेको बताएका थिए। यसैगरी, मन्त्रीहरूको गति र जिम्मेवारीमा ढिलाइ भएको विषयमा पनि बालेनले ध्यानाकर्षण गराएका थिए। युवा प्रतिनिधित्वको भागमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनारको नाम अघि बढिरहेको भए पनि बालेनले श्रेष्ठ र सुनारका पृष्ठभूमि र विवादबारे थप अध्ययन गर्न सुझाएका थिए।

गृहमन्त्री अर्यालसँग बालेनको असन्तुष्टि पनि स्पष्ट देखिएको छ। बालेनले अर्यालले युवाको अपमान गर्ने र प्रचलित कानुनको अति प्रयोग गर्ने अभ्यास गरेको बताए। तर अर्यालले आफू व्यावसायिक व्यक्ति भएको र मन्त्री बन्ने परिस्थितिले बाध्य बनाएको भन्दै स्थिति स्पष्ट पारेका थिए। स्रोतका अनुसार बालेनले सरकारले विद्रोहको म्यान्डेट लागू नगरे अप्रिय परिस्थितिहरू उत्पन्न हुन सक्ने चेतावनी पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट