काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको शपथ लिन लागिरहेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी रहेको खुलेको छ ।
दैलेखको नारायण नगरपालिका–२ भैसेखोर घर भएका सुनारविरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा मुद्दा दर्ता भएको पाइएको हो । उनीमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा मुद्दा दायर गरिएको अदालतको अभिलेखमा उल्लेख छ ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले दायर गरेको सो मुद्दामा अदालतले सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

२०८१ असार १४ गते दायर मुद्दामा अदालतले ७ दिने पक्राउ पुर्जी जारी गर्दै, पक्राउ नपरेमा ‘३५ दिने पुर्जी तामेल गरी उपस्थित गराउने’ निर्देशन दैलेख प्रहरीले दिएको थियो । त्यसपछि २०८१ मङ्सिर २१ गते अदालतले पुनः सुनारलाई पक्राउ गरी उपस्थित गराउन पत्राचार गरेको अभिलेखमा जनाइएको छ ।
सुनारविरुद्धको जाहेरी गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाले दिएका थिए । अदालतको अभिलेख सार्वजनिक भएपछि मन्त्री बन्न लागेका सुनारको नियुक्ति र शपथलाई लिएर राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij