Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

सुदूरपश्चिम प्रदेशसभा बैठक अझै अनिश्चित

सुदूरपश्चिम प्रदेशसभा बैठक अझै अनिश्चित

कैलाली  : गत भदौ २४ को ‘जेनजी’ प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशसभा भवनमा क्षति पुगेपछि प्रदेशसभा बैठक सञ्चालन हुनसकेको छैन । क्षतिग्रस्त प्रदेशसभा भवन र अन्य संरचना मर्मत तथा व्यवस्थापनको काम पनि अझै सुरु भएको छैन ।

प्रदेशसभा सचिवालयका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत तथा व्यवस्थापन भइनसकेको र बैठक सञ्चालनका लागि अन्य ठाउँमा पनि विकल्प नदेखिएकाले बैठक अनिश्चित बनेको हो ।

सभामुख भीमबहादुर भण्डारीले संरचना मर्मत र आवश्यक सामग्री व्यवस्थापनका लागि छलफल भइरहेको बताए ।

प्रदेशसभाको बैठक कक्षका टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटपलगायत सम्पूर्ण समान जलेर नष्ट भएकाले त्यसको व्यवस्थापनपछि मात्रै बैठकका लागि वातावरण बन्ने उनको भनाइ छ ।

प्रदर्शनका क्रममा प्रदेशसभा सचिवालय, विषयगत समितिका कार्यालय, प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका कार्यालयमा पनि आगजनी गरिएको छ । सचिवालयका अनुसार प्रदेशसभाका ६ वटा चारपाङ्ग्रे गाडी र पाँच वटा मोटरसाइकल आगजनीबाट नष्ट भएका छन् । करिब रु १२ करोडको भौतिक क्षति भएको छ ।

सचिवालयका सचिव देवबहादुर बोगटीले भवन मर्मत र आवश्यक प्राविधिक सामग्री व्यवस्थापनका लागि स्रोतको समस्या रहेको बताए । प्रदेशसभा बैठक कक्षको मर्मत तथा आवश्यक सामान व्यवस्थापनका लागि मात्रै कम्तीमा रु ५० लाख खर्च लाग्ने अनुमान गरिएको उनले बताए ।

गत भदौ ५ मा प्रदेशसभा बैठक बसेको थियो । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार प्रदेशसभामा हाल चारवटा विधेयक विचाराधीन छन् । प्रदेशसभाको अधिवेशन अन्त्य भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट