काठमाडौँ : ‘जेन–जी’ प्रतिनिधिहरूले सरकारविरुद्ध कडा आक्रोश व्यक्त गरेका छन्। शनिवार माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेपछि उनीहरू सरकारविरुद्ध खनिएका हुन्।
दिउँसो पत्रकार सम्मेलन गर्दै जेन–जी नेताहरूले युवाहरूको शान्तिपूर्ण भेला नियन्त्रणमा लिएर सरकारले दमनकारी व्यवहार गरेको आरोप लगाए।
जेन–जी प्रतिनिधि मञ्जना राईले शान्तिपूर्ण रूपमा भेला भएका आफ्ना साथीहरूलाई सरकारले पक्राउ गरेकाले तत्काल रिहाइ गर्नुपर्ने माग गरिन्। उनले भनिन्, “थुनिएका साथीहरूलाई रिहा नगरिए हामी कडा कदम चाल्न बाध्य हुनेछौँ। हामी पछि हट्ने छैनौँ।”
उनले जेन–जी आन्दोलनकै माध्यमबाट बनेको सरकारले उनीहरूको माग बेवास्ता गरेको भन्दै निराशा व्यक्त गरिन्।
त्यस्तै भोजपुरका जेन–जी प्रतिनिधि सागर तामाङले सरकारले युवाहरूलाई एकताबद्ध हुन नदिएको आरोप लगाए। उनले भने, “हामीलाई युनिफाइड हुन पनि रोक्न खोजिन्छ, यो कस्तो सरकार हो? अब हामी सहँदैनौँ, माग पूरा नभए आन्दोलन अझ कडा बनाइन्छ।”
जेन–जी प्रतिनिधिहरूले माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij