काठमाडौँ : ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन सङ्घीय संसद् भवन तोकिएको म्यादभित्र नसकिए निर्माण कम्पनीलाई हर्जाना तिराउनुपर्ने चेतावनी दिएका छन्।
शनिबार सिंहदरबार परिसरमा स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले पाँचौँ पटक थप गरिएको २०८२ पुस १६ गतेभित्र काम सम्पन्न नभए कम्पनीलाई कानुनी प्रावधानअनुसार जरिवाना तिराउन बाध्य हुने बताए।
संसद् भवन तीन वर्षभित्र सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते सम्झौता भएको थियो। तर, काम समयमा नसकिँदा पटक–पटक म्याद थपिँदै आएको छ।
मन्त्री घिसिङले दैनिक कार्यतालिका बनाएर काम तीव्र गर्न निर्देशन दिएका छन्। उनले राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै बैठक अब नयाँ भवनबाट सञ्चालन गर्नुपर्ने भएकाले समयमै काम सम्पन्न गर्न दुई सिफ्टमा काम गर्न सुझाव दिए।
सङ्घीय संसद्का दुवै सदन, समितिहरू र दलका कार्यालय रहने गरी १२ ब्लकको नयाँ संसद् भवन निर्माण भइरहेको छ। जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित पुरानो संसद् भवन क्षतिग्रस्त भएपछि सरकारले नयाँ भवन निर्माणलाई प्राथमिकतामा राखेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij