महोत्तरी : नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई अध्यक्ष भएर बसिरहनुपर्छ भन्ने कुनै सोच नभएको बताएका छन् ।
महोत्तरीको रामगोपालपुरमा तिहारको अवसरमा बुधबार आयोजित शुभकामना आदान–प्रदान तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्र बचाउनु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताए ।
“अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन,” उनले भने, “राष्ट्र बचाउनु नै मुख्य हो, आवश्यकता परे म जे जस्तो त्याग गर्न पनि तयार छु, तर जिम्मेवारीबाट भाग्ने मेरो स्वभाव होइन।”
कार्यक्रममा प्रचण्डले पार्टीको वर्तमान धारणा, रणनीति र राष्ट्रिय एजेन्डा स्पष्ट पार्दै मधेसमा पहिलो पटक जेनजी युवाहरूको ठूलो सहभागिता भएको बताए । उनका अनुसार, जनयुद्ध र जनआन्दोलनको समयका युवाहरू अहिले नयाँ रूपमै राष्ट्रिय परिवर्तनका लागि अघि बढ्न तयार छन् ।
“आज मधेसमा पहिलो पटक ६०५ जना जेनजी युवाहरू माओवादी केन्द्रमा प्रवेश गर्नु इतिहासकै महत्त्वपूर्ण क्षण हो,” प्रचण्डले भने । उनले माओवादी र जेनजी मिलेर आगामी निर्वाचन लड्ने संकेत पनि गरे ।
संयोजक प्रचण्डले देश अहिले सङ्कटमा रहेको भन्दै राष्ट्रिय सहमतिको आवश्यकता औंल्याए । सो अवसरमा विभिन्न दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका ६ सयभन्दा बढीलाई उनले स्वागत गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij