काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचनमा सहकार्य गर्न अपिल गरेकी छिन्।नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो अपिल गरेकी हुन्।
नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध भएको बताउँदै उनले सचेत नागरिकको भूमिका निर्वाह गर्न समेत भनेकी छिन्।
‘सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ । यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ। आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौं,’ उनले भनेकी छिन्, ‘लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ।’
नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिको कार्यक्रम, मंगलबजारमा प्रधानमन्त्री सुशीला कार्कीले दिएको मन्तव्यको पूर्णपाठ
नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिको यस कार्यक्रममा
मलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेकोमा आयोजकलाई हार्दिक आभार व्यक्त गर्दछु। र नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।
साथै नेपाल राष्ट्रलाई स्वतन्त्र र स्वाधीन बनाउन विभिन्न आन्दोलनमा ज्यान बलिदान दिनुभएका ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गर्दछु।
नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो।यसका प्रवर्तक शंखधर साख्वा एक व्यापारी हुनुहुन्थ्यो। तर उहाँ केवल नाफा कमाउने व्यापारी मात्र नभएर एक महान् समाजसेवी र लोककल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो।
Nabil bank
आजभन्दा ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋणमोचन गरिदिनुभयो। ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक निर्णय थियो। यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो।
उहाँको यही सामाजिक न्यायको महान् कार्यको कदरस्वरूप वि.सं. ९३६ मा नेपाल संवतको थालनी गरियो।
यसैको सम्मानमा उहाँलाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरियो। र, २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएको छ। सरकारी कागजातमा नेपाल सम्वत् समेत उल्लेख गर्न थालिएको छ।
यस सम्वतको संवर्धन, प्रवर्धन र व्यावहारिक कार्यान्वयनका लागि यहाँहरुको सुझावअनुसार थप कदम चाल्न पनि सरकार तयार छ।
नेपाल संवत् नेपाली धर्तीमा उत्पत्ति भएको हो। नेपाली जनताले यसको प्रादुर्भाव गरेका हुन्। तसर्थ नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्त्वपूर्ण धरोहर हो यो संवत्।
यस संवतको प्रवर्तन गर्ने ती महान् व्यक्तित्व साख्वाबाट आज पनि हामीले सिक्ने कुरा के छ भने व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई राखी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुन सक्छ।
उपस्थित जनसमुदाय,
२०८२ भदौ २३ र २४ गते जेनजीले देशमा व्याप्त चरम भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा कलिला युवाहरुको अनाहकमा ज्यान गएको र सयौंको संख्यामा घाइते भएको घटनाले म अत्यन्त दुःखी छु। आज यस समारोहमार्फत पनि उक्त आन्दोलनमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
सोही आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ। यस सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ। यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ। आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ।
यस कार्यमा सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको छु।
अन्त्यमा, आज सम्मानित व्यक्ति र संस्थालाई हार्दिक बधाई ज्ञापन गर्दै शंखधर साख्वाःले देखाउनुभएको सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न हामी सबैलाई प्रेरणा मिलोस्।
नयाँ वर्षले हामी सबैको जीवनमा सुख, शान्ति, सामाजिक सद्भाव र प्रगतिको नयाँ आयाम थपोस्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij