काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेलाई चुनावको पक्षमा उभिन आग्रह गरेका छन् । कांग्रेस र एमाले जेनजी आन्दोलनअघि सत्ताका दुई प्रमुख साझेदार हुन् । दुवै दलको केन्द्रीय समितिका बैठकहरू जारी छन् । दुवै दलको बैठकमा संसद् पुनर्स्थापनाको विषयमा गम्भीर विमर्श भइरहेको उल्लेख गर्दै सापकोटाले चुनावको पक्षमा उभिन उनले आग्रह गरेका हुन् ।
‘वर्तमान जटिल तथा अस्थिर राजनीतिक परिस्थितिको समाधान संसद् पुनर्स्थापनाबाट मात्रै सम्भव छैन्,’ सामाजिक सञ्जालमार्फत कांग्रेस र एमालेलाई माओवादी नेता सापकोटाले सुझाएका छन् ।
वर्तमान राजनीतिक अवस्थाले गहन सोच र साहसिक कदमहरूको माग गरिरहेको उल्लेख गर्दै सापकोटाले जसरी दलहरूको विकल्प छैन, त्यसरी नै दलहरू एकजुट भएर राष्ट्रको भविष्यको दिशा निर्धारण गर्नुको पनि विकल्प नरहेको पनि बताएका छन् ।
सापकोटा अगाडि लेख्छन्, ‘म नेपाली कांग्रेस र नेकपा एमालेभित्रका ऊर्जावान् युवा नेतृत्व तथा साथीहरूलाई यो विषम परिस्थितिमा साहसपूर्वक निर्णय लिँदै तोकिएकै मितिमा मध्यावधि निर्वाचनको पक्षमा दृढतापूर्वक उभिन विशेष अपिल गर्दछु ।’
यस्तो कदमले मात्र राजनीतिक अस्थिरतालाई अन्त्य गर्दै आम नागरिकका वर्तमान आकांक्षाहरूलाई सम्बोधन गर्न सक्ने उनको विश्वास छ । अस्थिरताको चक्रबाट बाहिर निस्कन निर्वाचन नै लोकतान्त्रिक तथा वैधानिक मार्ग भएको उनको आग्रह छ । यसै सन्दर्भमा जेनजी पुस्ता तथा सबै राजनीतिक दलहरूभित्रका युवा नेताहरूबीच राष्ट्रिय स्तरको गहन राजनीतिक संवाद र व्यापक विमर्शको वातावरण निर्माण गर्नुपर्ने पनि सापकोटा बताउँछन् ।
उनी लेख्छन्, ‘संवादले युवा पुस्ताको आवाजलाई केन्द्रमा ल्याउँदै राष्ट्रिय एकता र प्रगतिको आधार तयार पार्न सक्छ। यसबाट इतिहासका पाठहरूबाट सिक्दै भविष्यका लागि सुझबुझपूर्ण निर्णयहरू लिन सकिन्छ।’
देशले युवा राजनीतिकर्मीहरूबाट अपेक्षा गरेको परिवर्तन र जिम्मेवारीलाई व्यवहारमा उतार्ने उपयुक्त समय अहिले रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘ साहसिक र दूरदर्शी निर्णयहरूका लागि एकजुट होऔं ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij