Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

सरकारसँग राजेन्द्र महतोको गुनासो : आन्दोलनको मर्म बुझेन

सरकारसँग राजेन्द्र महतोको गुनासो : आन्दोलनको मर्म बुझेन

काठमाडौँ : राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको चारदिने बैठक सम्पन्न भएको छ । बैठकले हालको राजनीतिक परिवेश, आन्दोलनपछिको स्थिति, सरकारको कार्यशैली र आगामी निर्वाचनका तयारीलगायत विषयमा छलफल गरेको छ । बैठकले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ ।

आन्दोलनको मर्म र जनभावना सरकारले नबुझेको महतोले आरोप लगाए । आन्दोलनमा बलिदानी दिएका युवाहरूका माग सुन्नुको सट्टा सरकार प्रशासनिक सन्तुलन र नियुक्तिमा मात्र व्यस्त रहेको उनले गुनासो गरेका छन् ।

बैठकले आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट, जनधनको क्षति तथा बलिदानका घटनाको सत्यतथ्य छानबिन गर्न सत्य छानबिन, न्याय एवं क्षतिपूर्ति आयोग गठनको माग गरेको छ । साथै ठुला घोटाला, भ्रष्टाचार, करछली र अनियमिततामा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न स्वतन्त्र र शक्तिशाली जन–लोकपाल आयोग गठन गर्न पनि बैठकले माग गरेको महतोले जानकारी दिए ।

बैठकपछि जारी गरेको विज्ञप्तिमा बहुल संस्कृतिको सम्मान, स्वशासन र समान अधिकार सुनिश्चित गर्न संविधान पुनर्लेखनको सैद्धान्तिक सहमति जनाउँदै संविधान सुधार सुझाव आयोग गठनको माग गरिएको छ । बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) लाई ध्यानमा राख्दै समावेशी र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न विशेष ‘अन्तरिम घोषणा’ जारी गर्नुपर्ने पनि निर्णय गरेको छ । उक्त घोषणामार्फत आगामी संसद्ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्था संस्थागत गर्नुपर्ने पनि विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै पार्टीले देशव्यापी मुक्ति यात्रा आयोजना गर्ने निर्णय गरेको छ । जसअन्तर्गत मधेसमा झापा–कञ्चनपुर पदयात्रा र पहाडमा सांस्कृतिक संवाद यात्रा सञ्चालन गरिनेछ । उक्त अभियानको सम्पूर्ण तयारीका लागि कार्यकारिणी समितिलाई नै मूल आयोजक समितिको रूपमा रूपान्तरण गरिएको छ ।

पार्टी एकता, सहकार्य र मोर्चा निर्माणका कार्यलाई अघि बढाउन वरिष्ठ उपाध्यक्ष राम नरेश यादवको नेतृत्वमा वार्ता तथा संवाद समिति गठन गरिएको छ । साथै आसन्न निर्वाचनका लागि उम्मेदवार छनोटदेखि प्रचार–प्रसारसम्मको कार्यविधि तयार गर्न वरिष्ठ उपाध्यक्ष सुमन सायमीको नेतृत्वमा ११ सदस्यीय निर्वाचन तयारी समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट