काठमाडौं : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालको सचिवालयले नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुबेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ ।
सुबेदीले टीकाराम यात्रीको कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा जेन जी आन्दोलन हुनुभन्दा पहिला दाहालको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ निकालिएको बताएका थिए ।
उनले भनेका थिए, ‘प्रचण्डको दुई ट्रक, दुई करोड रुपैयाँ त्यहाँबाट दुई दिनअघि निकालिएको छ । माओवादीको कुनै एक पूर्वमन्त्रीले स्कर्ट गरेर कुनै सेफ हाउसमा राखेको छ । कहाँ राखेको छ त्यो मलाई थाहा छैन ।'
यो अन्तर्वार्ता प्रशासरण भएपछि यो दुई करोड रुपैयाँ लुकाएको प्रसंग भएको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रचण्डको सचिवालयको संयोजकका तर्फबाट आइतबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरिएको सचिवालयले जनाएको छ ।
पूरै गलत र तथ्यहीन प्रचार गरेको, झुटा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्र हत्यासमेत गरेको भन्दै ब्युरोमा उजुरी गरिएको हो ।
सचिवालयले भनेको छ, ‘संयोजकको सचिवालयका तर्फबाट हिजो ब्युरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरि कानुनी कारबाहको माग गरिएको छ ।
जेन जी आन्दोलनका क्रममा भदाै २४ गते खुमलटारस्थित प्रचण्डको निवासमा आगजनी भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij