धनुषा : मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशमा नयाँ सरकार गठनको दाबी गरिएकोप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले आफूलाई ३० दिनभित्र विश्वासको मत लिने संवैधानिक अधिकार रहेको बताउँदै, प्रदेश प्रमुखले नयाँ सरकारका लागि आह्वान गरेको भन्ने हल्ला पूर्णतः गलत र भ्रामक भएको स्पष्ट पारेका हुन्।
मुख्यमन्त्री सिंहले शनिबार रातोपाटीसँग कुरा गर्दै भने, ‘सङ्घीयतामाथि नै प्रहार हुने गरी मेरो पार्टीसहितका तीन दलले कार्य गरेका छन्। हतार-हतारमा गरिएको यस्तो कदमलाई राजनीति भनिँदैन।’
गणतन्त्र स्थापनाका लागि आफू स्वयंले आन्दोलन गरेको बताउँदै उनले सङ्घीयता खारेज गर्ने कुरा सपनामा पनि नआउने स्पष्ट पारे । उनले अहिले भइरहेका गतिविधि ‘आफ्नो गल्ती छोप्न रचिएको षड्यन्त्र’ भएको आरोप लगाए।
मुख्यमन्त्री सिंहले थपे, ‘मैले राजीनामा दिएपछि मात्र प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्न सक्नुहुन्छ। त्यसपछि मात्र नयाँ सरकारले बहुमत सिद्ध गर्नुपर्ने हुन्छ। तर अहिले भइरहेको काम प्रक्रियागत रूपमा गलत छ।’
संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि उनले असोज २८ गते नै प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेको बताएका छन्। उनले ‘जनधारले जे भन्छ, म त्यही अनुसार अघि बढ्नेछु’ भन्दै दृढता व्यक्त गरे । असोज २८ गते बस्ने बैठकमा दलहरूले गरेको प्रपञ्चको सारा कच्चा चिट्ठा खोल्ने घोषणा गर्दै उनले अहिले आफू थप टिप्पणी नगर्ने बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij