काठमाडौँ : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले युवामैत्री कांग्रेस निर्माण गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना दिएका छन् । शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका केही सदस्यहरूले युवामैत्री कांग्रेसको माग गर्दै धर्ना दिएका हुन् ।
उनीहरुले पार्टी एकता आजको आवश्यकता, हरेक पदमा ४० प्रतिशत युवा सुनिश्चित गर, परिमार्जन बिनाको महाधिवेशन अमान्य, नेपाली कांग्रेसको विधान परिवर्तन गर, युवालाई क्रियाशील विधान संशोधन अनि मात्र अधिवेशन, कि सरकार कि पार्टी, एक व्यक्ति एक पद लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
धर्ना कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य आकाश उप्रेतीले पार्टी कार्यालयमा युवा उमेर समूहका व्यक्तिहरूले पदाधिकारी र कार्य सम्पादन बैठकको पूर्व सन्ध्यामा पार्टीले लिने दिशा र युवाको भूमिकाबाट पार्टीसम्म आफूहरूको धारणा पुगोस् भनेर धर्ना दिएको बताए ।
पार्टीमा युवाहरूको क्रियाशील सदस्यहरूको सङ्ख्या ३० प्रतिशतसम्म पुर्याउनुपर्ने माग गरे । पार्टीमा युवाहरूको प्रवेश सहज नबनाई युवा शब्दको सार्थकता दिन नसक्ने बताए । युवामैत्री, चलायमान युवा सङ्गठनका लागि विधान संशोधन अनिवार्य रहेको बताए । सबै तहका निर्वाचनहरूमा कम्तीमा ४० प्रतिशत युवाहरूलाई पार्टीको आधिकारिक रूपमा अघि बढाउनुपर्ने व्यवस्था विधानमै उल्लेख गर्नुपर्ने माग राखेका छन् ।
उनले जेनजी आन्दोलनपश्चात् नेपाली कांग्रेसले आम युवाको विचारलाई पार्टी सङ्गठनमा अटाउने, आम युवाको लागि कांग्रेस खुला छ भन्ने सन्देश दिन सक्नुपर्ने बताए । उनले युवामैत्री कांग्रेस निर्माण गर्न आगामी केन्द्रीय समितिको बैठकले निर्णय गरेर अघि बढ्न सुझाव दिए ।
विधानमा व्यवस्था भएका सबै तहका प्रतिनिधिमूलक पदहरू, सबै तहका समिति, संसदीय समिति, पार्टीको विभागमा अनिवार्य रूपमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित हुने गरी विधान संशोधन गर्नुपर्ने माग राखेका छन् । -न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij