Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

लगातार वर्षाले कृषिमा बढायो जोखिम, कृषि विभागले जारी गर्‍यो विशेष सावधानी सन्देश

लगातार वर्षाले कृषिमा बढायो जोखिम, कृषि विभागले जारी गर्‍यो विशेष सावधानी सन्देश

काठमाडौँ : लगातारको वर्षा र मनसुनको सक्रियतासँगै कृषिमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा विशेष कृषि मौसम सल्लाह सार्वजनिक गरेका छन्।

सल्लाहमा किसानलाई तरकारीबाली, फलफूल बगैँचा तथा पाक्दै गरेको धानखेतमा पानी निकासको उचित व्यवस्था गर्न आग्रह गरिएको छ। साथै, विषादी छर्कने कार्य रोक्न, खोलानदी नजिकका संरचनामा रहेका सामग्री सुरक्षित स्थानमा राख्न र बाढीको जोखिमलाई ध्यानमा राखी पूर्वतयारी गर्न सुझाव दिइएको छ।

कृषि मौसमविद् रामेश्वर रिमालका अनुसार, पानी निकास राम्रो बनाएर धानबालीमा क्षति कम गर्न सकिन्छ। “धान नकाट्ने, काटेको भए तुरुन्तै भित्र्याउने, र काटिएको धान अग्लो र ओभानो ठाउँमा भण्डारण गर्ने,” उहाँले सुझाव दिनुभयो। साथै, तरकारीबालीका नर्सरीमा पानी जम्न नदिन र बेर्ना कुहिन नदिन निकासको व्यवस्था गर्न पनि किसानलाई आग्रह गरिएको छ।

सल्लाहमा पशुपालनसम्बन्धी सावधानीसमेत समावेश गरिएको छ। लगातार पानीका कारण पशुबस्तुमा पाचनसम्बन्धी समस्या देखिन सक्ने भएकाले नियमित अनुगमन गर्न र समस्या देखिए तत्काल पशु प्राविधिकलाई खबर गर्न भनिएको छ। नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोज शाहीका अनुसार चिसो ठाउँमा राखिएको दानामा ढुसी लाग्ने सम्भावना बढी हुने भएकाले ओभानो र सफा स्थानमा दाना भण्डारण गर्न आवश्यक छ।

कुखुराको खोर हिलो र चिसो हुँदा जुम्रा, सुलसुलेजस्ता परजीवी फैलिन सक्ने भएकाले दैनिक अनुगमन गर्न र दक्ष प्राविधिकको सल्लाह लिन पनि सुझाव दिइएको छ।

मौसम विज्ञान विभागका सूचना अधिकारी दीनकर कायस्थले देशका धेरै स्थानमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै किसानलाई थप सतर्कता अपनाउन आग्रह गर्नुभयो।

यो वर्षको दसैँ अगाडि परेपछि धेरै किसानले धान काट्ने तयारी गरेका थिए, तर लगातारको वर्षाले धानभित्र्याउने कार्य प्रभावित भएको छ। मध्यपहाडी जिल्लाहरूमा अहिले नै धान काट्ने मुख्य याम भएकाले किसानहरू खेतमै डुबेको धानबालीबारे चिन्तित छन्।

धानविज्ञ कृषि प्रचार अधिकृत कृष्ण धितालका अनुसार, “बर्खेधान भिजे पनि तुरुन्त उम्रँदैन, तर किसानले सावधानी अपनाउनैपर्छ।” उहाँले धान काट्ने क्रममा पानी रोकिने पर्खन र काटिसकेको भए ओभानो ठाउँमा सार्न सुझाव दिनुभयो।

कृषि विभागका प्रवक्ता जगन्नाथ तिवारीले विभागले यसअघि नै दशैंपछि वर्षा हुने चेतावनी जारी गरेको बताउँदै किसानले धान काट्न हतार नगरेको हुन सक्ने बताउनुभयो। उहाँले किसानलाई स्थानीय कृषि प्राविधिकसँग सल्लाह लिएर मात्र धान काट्ने वा भण्डारण गर्ने कार्य अघि बढाउन आग्रह गर्नुभयो।

जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले भिजेको धानलाई हावा लाग्ने र ओत भएको ठाउँमा राख्न र बेलाबेला चलाइराख्न किसानलाई अनुरोध गर्नुभयो। उहाँले भने, “धान झार्न सकेसम्म पर्खिनुहोस्, झारेको भए पनि त्यसलाई हावाले सुक्ने गरी फैलाएर राख्नुहोस्।”

कृषि विज्ञहरूका अनुसार, यो चरणमा सावधानी र व्यवस्थापनले मात्र किसानको वर्षभरको मिहिनत जोगाउन सक्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट