भक्तपुर : भक्तपुरका चिउरा व्यवसायीले यस वर्ष विगतको वर्षमा भन्दा ५० प्रतिशतले चिउराको माग घटेको बताएका छन् । जेनजी आन्दोलनको प्रभाव पनि चिउराको मागमा कमी आएको हुनसक्ने व्यवसायीहरूको अनुमान छ । परम्परागत परिकारको रूपमा चिउराले दसैँमा विशिष्ट स्थान ओगट्दै आएको छ । यसलाई धार्मिक, सांस्कृतिक र पारिवारिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ ।
चिउरा व्यवसायी दिनेशप्रसाद काफ्लेले बजारमा करिव ५० प्रतिशतले माग घटेको बताए । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण माग घटेको हुनसक्ने उनले बताए । उत्पादन स्थलमा अर्थात चिउरा मिलहरूमा भने विक्रीमा तुलनात्मक रूपमा वृद्धि भएको व्यवसायी काफ्लेको भनाई छ । व्यवसायी काफ्ले स्थानीय उपभोक्ताहरू सिधै मिलमै पुगेर चिउरा किन्ने प्रवृत्ति बढेको बताउनु भयो ।
दसैँ लगायत चाडपर्वका लागि ताजा, राम्रो चिउरा लिन मिलमै आउने गरेको ग्राहक रामशरण ढकालले बताए । पसलमा भन्दा गुणस्तरीय चिउरा मिलमा पाउने भएकाले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि मिलमा आएको उनले बताए । पसलमा पाइने चिउरा प्रायः धेरै दिनसम्म स्टोरमा राखिएको, कहिलेकाहीँ नमिठो र फिक्का हुने गरेको अनुभव सुनाउँदै उनले मिलमा बनेको ताजा चिउरा आफ्नो र परिवारको रोजाइको पहिलो नम्बरमा पर्ने बताए ।
मिलको चिउरामा मिसावट नहुने भएकाले आफू पहिलेदेखि नै मिलमा चिउरा लिन आउने गरेको अर्का उपभोक्ता कमलप्रकाश वनले बताए । त्यसैगरी, मूल्यको विषयमा पनि उनले आफ्ना धारणा राख्दै बजारमा पाइने चिउराको तुलनामा मिलमा पाइने चिउराको मूल्य निकै सस्तो हुनुका साथै गुणस्तरमा पनि उच्च रहेकोले उपभोक्तालाई आर्थिक रूपमा समेत सहज हुने गरेको बताए ।
पकाउन नपर्ने, सजिलै भण्डारण गर्न मिल्ने भएकाले विशेषगरी सहरमा चिउराको खपत उच्च हुन्छ । दसैँ तिहार जस्तो चाडपर्वमा मासु, तरकारी, दही, दूध वा केरा जस्ता परिकारसँग चिउरा खाने चलन छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij