Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

सडक अतिक्रमणले अस्तव्यस्त राजविराज बजार

सडक अतिक्रमणले अस्तव्यस्त राजविराज बजार

भारदह(सप्तरी) : राजविराज नगरपालिकाको बजार तथा सडकपेटीहरूमा दिनप्रतिदिन अतिक्रमण बढेपछि सर्वसाधारणले सास्ती भोग्नुपर्ने बाध्यता छ ।

यहाँको सडक पेटीहरूमा स–सानादेखि ठूलाठूला पसल सञ्चालनसँगै सवारीसाधन पार्किङ गर्न थालेपछि सर्वसाधारणले सास्ती ब्यहोर्नु परेको हो ।

राम मन्दिरदेखि उच्च अदालत जनकपुर राजविराज इजलाससम्म करिब ४ सय मिटर सडकको दुबै छेउमातरकारी, फलफूल, चटपटे तथा अन्य सामग्रीको पसल थापेपछि सडकको बिचको सानो भागबाट सर्वसाधारणले हिड्डुल गर्नुपर्ने बाध्यता छ । पैदल यात्रा र सवारी साधनमा यात्रा गर्न कठिनाइ भएको राजविराज ७ को शिवनारायण यादवले बताउनुभयो ।

राजविराज बजारको सबै सडकमा सवारी साधन पार्किङ गर्दा सर्वसाधारण समस्यामा पार्दै आएको उहाँले बताउनुभयो ।

सवारी साधनहरू बसपार्कमा नभए सडकमा पार्किङ गर्ने, सडक अतिक्रमण गरेर स–सानासाना पसल सञ्चालन गर्ने प्रवृत्तिको न्यूनीकरण हुन नसक्दा सर्वसाधारणले सास्ती व्यहोर्नुपर्ने परेको हो ।

राजविराज बसपार्कको पर्खाइमा रहेका सर्वसाधारण बसपार्क निर्माण सम्पन्न भएर उद्घाटन भएको तीन महिना बित्न लाग्दा समेत सञ्चालनमा आउन सकेको छैन । बस, माइक्रो, विंगरलगायत सानाठुला सबारी साधन बसपार्कमा पार्किङ नगरेर सडकमै पार्किङ गरिँदै आइएको छ । यसरी सडकमै सवारीसाधन पार्किङ गर्दा पैदल यात्रीलाई हिँड्डुल गर्न समस्या हुने गरेको राजविराज २ का अधिवक्ता धर्मेन्द्र यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सबै काम सडकमै गर्न थालेपछि सडक व्यस्त न भएर के हुन्छ । पाँच मिनेटमा पुग्ने ठाउँमा २० मिनेट समय खर्चिनु परेको छ । दुर्घटनाको डरत्रास पनि उत्तिकै बढेको छ ।’’

राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविणले पटकपटक अतिक्रम हटाए पनि फेरि अतिक्रमण गरेर पसल सञ्चालन गरेर सर्वसाधारणलाई सास्ती दिनेलाई कानुन बमोजिम कारबाही हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सडक अतिक्रमण र भिडभाड अहिलेको ठुलो समस्या रहेकाले अतिक्रमण हटाउन पुनः पहल गर्ने र सवारीसाधारण बसपार्कमा पार्किङ गर्ने व्यवस्था मिलाउने प्रयासमाा छौँ ।’’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij