Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

मिथिलामा यसरी मनाइन्छ तिज

मिथिलामा यसरी मनाइन्छ तिज

नेपाल : मलाई धेरैले सोध्नुहुन्छ तपाईंहरूमा पनि तिज हुन्छ ? अर्थात् मिथिलामा पनि तिज मनाइन्छ, मिथिलानीहरू पनि तिज व्रत लिनुहुन्छ ? लिनुहुन्छ ! तिजमा शिव–पार्वतीको पूजा गरिन्छ र अटल सौभाग्य तथा आरोग्यको कामनासहित व्रत बसिन्छ । खासमा सनातनी हिन्दुहरू जुनसुकै समुदाय, क्षेत्र र भूगोलमा भए पनि प्रायः पर्व–त्योहारमा समानता पाइन्छ । मैथिलहरू पनि हिन्दु हुन् र शिवभक्ति कतिसम्म गर्छन् भने लोकोक्ति अनुसार मिथिलाका महाकवि विद्यापति यति ठुलो शिवभक्त हुनुहुन्थ्यो कि स्वयम् देवादिदेव महादेव उहाँको घरमा ‘उगना’ नोकर भएर बस्नुभएको थियो भन्ने किंवदन्ती विद्यमान छ । भनिन्छ, विद्यापतिको कवित्व र गायनसँग मुग्ध भएर महादेव स्वयम् उगना रूपमा उहाँको संसर्गमा आउनुभएको थियो । मिथिलाञ्चलमा आज पनि उगना महादेवको पूजा हुन्छ अर्थात् शिवभक्ति मिथिलाको कण–कणमा प्रवाहित छ । भने तिजको माहत्म्य कस्तो होला भनेर अनुमान लगाउन सकिन्छ ।

तिज नेपालको मिथिला–मधेशदेखि भारतका केही प्रान्तसम्म मनाइने गरिन्छ छ तर मिथिलाका कुनै कुनै घरमा भने तिजको व्रत नहुने पनि हुन्छ । पहाडको जस्तो बाहिर देखिने जस्तो तडकभडक नभए पनि मिथिलाका कतिपय घरका नारीले निष्ठापूर्वक व्रत बसेर शिव–पार्वतीको आराधना गर्ने गर्छन् । हिन्दु महिलाहरूको महान् चाड हरितालिका तिजको रौनक यतिबेला के सहर के  गाउँ, यो देश–विदेश सर्वत्र फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो, पति र परिवारको स्वास्थ्य र श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्छन् ।

तिज किन मनाइन्छ 

संस्कृतिविद्–साहित्यकार डा. रेवतीरमण लाल भन्नुहुन्छ, “तिजको धार्मिक र सांस्कतिक महत्त्व रहेको छ । तिज व्रतको सुरुवात हिमालयपुत्री पार्वतीबाट भएको मानिन्छ । यो व्रत मैथिलानी महिलाहरू अनादिकालदेखि नै बस्दै आएको मान्यता छ । मिथिलामा तिजको परम्परा निकै पुरानो छ । यो पर्व भाद्र शुक्ल पक्ष तृतीयाका दिनमा पर्दछ । त्यस दिन हस्त नक्षत्र र सोमबार परेमा भने तिजको महìव झनै बढ्छ ।” मिथिला संस्कृतिकी जानकार नीरारानी देवीका अनुसार, “पौराणिक प्रसङ्ग अनुसार भाद्र शुल्क तृतीयाको दिन पर्वतराज हिमालयकी पुत्री पार्वतीलाई विष्णुसँग विवाह गराइदिने प्रस्ताव नारदमुनिले लमीको रूपमा हिमालय र माता मैनालाई सुनाउनुभएछ । पार्वतीले त्यसलाई अस्वीकार गर्दै उदास हुनुभयो । सो देखेर पार्वतीकी सखीहरूले उदासीको कारण सोध्दा आफूले मनमनै शिवलाई पतिका रूपमा वरण गरिसकेको र कठिन तपस्या गरेर पनि तपिको रूपमा शिवलाई प्राप्त गर्ने आफ्नो कामना रहेको सुनाएपश्चात, सखीहरूले उहाँलाई सो प्रस्तावबाट जोगाउन हरण गरेर घनघोर जङ्गलमा लगेर लुकाउनुभएछ । यसरी पार्वतीलाई उहाँका सखीहरूले पितागृहबाट हरणगरी लगेको हुनाले यसलाई हरितालिका भनिएको हो ।”

वरिष्ठ समालोचक–संस्कृतिविद् डा. रामदयाल राकेश भन्नुहुन्छ, “हरितको अर्थ हुन्छ हरण गरिएको र अलिकाको अर्थ हुन्छ सखी अर्थात् पार्वतीलाई सखीद्वरा हरण गरी गलिएको हुनाले यस चाडको नाम हरितालिका रहन गएको हो ।” डा. राकेशका अनुसार व्रतालु महिलाहरू तिजको दिन यही कथालाई श्रवण पनि गर्नुहुन्छ र शिवको ‘नचारी’ अर्थात् बिहेमा शिवले गर्नुभएको अनेक लीलाको कथालाई गीतको माध्यमबाट गाएर पूजा गर्नुहुन्छ । यसरी समूहमा बसेर पूजाअर्चना गर्दै गीत गाएर दिन बितेको पत्तो पाइँदैन न त व्रतालुहरूलाई भोक–प्यासले सताउँछ । डा. लालका अनुसार मिथिलामा तिज व्रत आज पनि आफ्नो मौलिक स्वरूपमा कायम छ ।

नहायखाय अर्थात् दर 

प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा अघिल्लो दिन अर्थात् द्वितीयाका दिन देशभरि दर खाने चलन रहेको छ तर मिथिलाञ्चलमा भने व्रत बस्नुअघिल्लो दिन ‘नहायखाय’ को चलन रहेको छ । अर्थात् तिजको अघिल्लो दिनदेखि नै शुद्ध शाकाहारी भोजन गर्ने परम्परा रहेको छ । जसमा लसुन र प्याज जस्ता खानेकुरा पनि बर्जित प्रायः छ र तिजका दिन व्रत बसिन्छ । भनिन्छ तिजको व्रत पवित्र मन–वचनका साथ बस्दा विवाहितहरूले आफ्ना पतिको दीर्घायु तथा सुस्वास्थ्य प्राप्त गर्छन् । मिथिलामा अविवाहिताहरूले यो व्रत लिँदैनन् ।

परम्परागत पहिरनको सौन्दर्य

पहिलो तिजको उल्लास नै बेग्लै । त्यसमाथि मिथिलाका परम्परागत पहिरन र शृङ्गार विन्यासले निखार्ने रूपसौन्दर्य र उत्साहले नव विवाहिताहरूलाई त्यसै कुतकुताएर जान्छ नै । पहिलो पटक तिज व्रत बस्दा विभिन्न विधि–विधान अनुसार गर्ने चलन छ । नव विवाहिताहरू तिजको अघिल्लो अर्थात् नहायखायका दिन बिहानै नुहाइधुवाइ गरी प्रयः चाखो मानिने ‘बनारसी साडी’ नभए सफा वस्त्र धारण गरी निधारभरि सिन्दुरले कलात्क फूलबुट्टा ‘धासा (पटमाइस)’ बनाउँछन् । धासालाई सौभाग्यको प्रतीक मानिन्छ, यो प्रत्येक चाडमा मिथिलानीहरूले आफ्नो निधारमा बनाउँछन् । धासा पनि एक प्रकारको चित्रकला नै हो । यसमा विभिन्न फूलबुट्टा, माछा आदिको आकृति सिन्दुर (सिन्दुरमा घिउ मिसाएर लेप बनाइन्छ) ले बनाइने गरिन्छ । त्यस्तै खुट्टामा रातो रङ्ग लगाएर, खुट्टा सिँगार्ने चलन पनि छ । त्यस्तै हातमा लाहले निर्मित रातो–पहेँलो लहठी लगाई पूजा–अर्चना गर्ने प्रचलन छ । लाहको चुरा–बाला (लहठी) लाई मिथिलामा शुद्ध मानिन्छ । बेहुलीलाई विवाहमा पनि यही शृङ्गार अनिवार्यतः गरिन्छ ।

नवविवाहित मात्र नभएर सम्पूर्ण मैथिलानीहरू नहायखायको दिन सफा वस्त्र धारण गरेर पूजाअर्चनापछि सात्विक भोजन ग्रहण गर्ने चलन छ । नहायखायको भोलिपल्ट अर्थात् तिजको दिन नवविवाहितादेखि सम्पूर्ण महिलाहरूले प्रायः उस्तै पहिरन र शृङ्गार विन्यासले सुसज्जित भई व्रत बस्छन् र विधिपूर्वक शिव–पार्वतीको कथा श्रवण गर्छन् । तिजको दिन पुरोहित बोलाएर विधिपूर्वक पूजा गराइन्छ । तिजको व्रत निर्जला नै बस्ने परम्परा रहे पनि यति बेला केही लचिलो भने भएको छ । गर्भवती र बिरामीहरूलाई कुनै कडा नियम पालना गर्नुपर्ने बाध्यता हुँदैन । प्रायः परिवारले नै फलाहार र जल ग्रहण गरेर मात्र व्रत बस्न लगाउँछन् । तिजमा शिव र पार्वतीको पूजा सन्ध्याकालमा गर्ने प्रचलन छ । दिनमा शिवालय दर्शन गर्ने र साझ विधिपूर्वक पूजा गरी भजन–कीर्तन गर्ने गरिन्छ ।

पारणमा मिथिलाको परिकार

तिजको भोलिपल्ट ‘पारण’ गरिन्छ, पारण भनेको खाना हो । तिजको कठिन व्रतपश्चातको खानाको पनि मिथिलामा आफ्नै महत्त्व छ । पारणको दिन बिहानै नुहाइधुवाइ गरी पूजाअर्चना गरिन्छ । त्यसपछि ब्रह्मणका लागि दान भनेर अन्न–वस्त्र आदि छुट्याएर त्यसलाई पनि धुपदीपले पूजा गरिन्छ । अनि बल्ल व्रतालुले भोजन ग्रहण गर्छन् । भोजनमा सामान्यतः दालभात र तरकारी त भइ नै हाले तर मिथिलाञ्चल विशेष बडी, तरुआ, तिलकोर, अचार, खिर–पुरी र मिष्ठान्न आदि व्यञ्जन पस्किने चलन छ । यसरी पारणपश्चात तिज व्रतको समापन हुन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij