भोजपुर : आंशिक प्राध्यापकहरूको मागलाई त्रिभुवन विश्वविद्यालयले बेवास्ता गरे पश्चात् सुरु भएको आंशिक प्राध्यापकहरूको चरणबद्ध आन्दोलन बुधबारसम्म जारी रहेको छ । आन्दोलनका कारण पाँच दिनदेखि क्याम्पसमा पठनपाठन पूर्ण रुपमा ठप्प रहेको छ । विश्वविद्यालयले गत वर्ष साउन १८ गते ‘घ’ वर्गको क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरूलाई शिक्षण सहायकमा नियुक्ति गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि अहिलेसम्म नियुक्ति नदिएपछि आन्दोलन सुरु भएको थियो । क्याम्पसको ८० प्रतिशत पठनपाठन आंशिक प्राध्यापकहरुले सञ्चान गर्दै आएका ‘घ’ वर्गका क्याम्पसमा आंशिक प्राध्यापकहरुनै आन्दोलीत हुदा पठनपाठन प्रभावित भएको हो । पठनपाठन सुचारु गर्न क्याम्पस प्रशासनले आन्दोलनरत प्राध्यापकहरु छलफल गरेपनि माग सम्बोधन नहुन्जेलसम्म पेन डाउन गर्ने प्राध्यापकहरुको अडान रहेको छ ।
विश्वविद्यालयको प्रशासनले पटक–पटक आफूहरूलाई आश्वासन दिए पनि अझैसम्म मागहरू सम्बोधन नभएपछि आफूहरूले आन्दोलन गर्नु परेको भोजपुर बहुमुखी क्याम्पस भोजपुरका आंशिक प्राध्यापक सङ्घर्ष समितिका संयोजक शक्तिराज राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘साउन ३० गते हातमा कालो पिट्ट बाँधेर विरोध गरेका थियौँ । क्रमशः भदौ १ देखि ५ गतेसम्म पेन डाउन गरेका छौँ । हाम्रो माग प्रति त्रिभुवन विश्वविद्यालय बेखबर अर्थात् बेवास्ता गर्दा यो अवस्था सृजना भएको हो । अझै विश्वविद्यालयको प्रशासनले माग पुरा नगरे आन्दोलनलाई थप सशक्त बनाउने तयारी छ ।”
पठनपाठन ठप्प हुँदा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु अन्योलमा परेका छन् । गाउँबाट पढ्न सहर आएका विद्यार्थीहरु पठनपाठन ठप्प भएसँगै अब के गर्ने भनेर अलमलमा परेको भोजपुर बहुमुखी क्याम्पसका स्ववियुका सचिव जिवन राईले जानकारी दिनुभयो । क्याम्पसका प्राध्यापकहरूले आफ्नो अधिकारका लागि लड्दै गर्दा विद्यार्थीहरुको शैक्षिक अधिकार हनन् भएको प्रति खेद व्यक्त गर्दै तत्काल समस्या समाधान गर्न सरोकारवाला निकायलाई आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, “शैक्षिक क्यालेण्डर अनुसार नयाँ विद्यार्थी भर्ना, कक्षा सञ्चालन, लगायत शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ यस विषयमा क्याम्पस प्रशासन तथा सरोकारवाला थप जिम्मेवार हुन आवश्यक छ ।”
यता, क्याम्पस प्रमुख डा.पर्वत कुमार राईले त्रिविको कार्यकारी परिषद्ले गरेको निर्णयका बारेमा क्याम्पस प्रशासनको भूमिका नभएता पनि आदेश अनुसार आफूले निर्णय कार्यान्वयन गर्ने भएकाले समस्या समाधानका लागि पहल गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राध्यापकहरुको आन्दोलनले क्याम्पसको पठनपाठन प्रभावित भएको छ । आन्दोलनरत प्राध्यापकहरुको मागका बारेमा केन्द्रीय विभागलाई जानकारी दिएका छौँ, तर माथिबाट केहि सूचना आएको छैन ।”
त्रिभुवन विश्वविद्यालय र आंशिक प्राध्यापक सङ्घर्ष समितिबिच २०८१ साउन १८ गते सहमति भई त्रिवि कार्यकारी परिषद्ले आंशिक प्राध्यापकहरूलाई रिक्त दरबन्दीमा शिक्षण सहायक पदमा नियुक्ति गर्ने सहमति भएको थियो । जस अनुसार ‘घ’ वर्गअन्तर्गतका क्याम्पसहरूलाई कार्यविधि बनाई आंशिक व्यवस्थापनमा कार्यरत शिक्षक र कक्षा भार पुगेका कार्यरतलाई शिक्षण सहायक पदमा नियुक्तिको प्रक्रिया अगाडि बढाउने निर्णय अनुसार भोजपुर क्याम्पसले समेत सम्पूर्ण प्रक्रिया पुर्याएर अनुमोदनका लागि त्रिवि परिषदमा पठाएको थियो ।
गत वर्ष चैत्र २७ र २८ गते विभिन्न विषयमा कार्यरत १७ जना आंशिक प्राध्यापकले कार्यविधि अनुसार सबै प्रक्रिया पुरा गरी प्राप्ताङ्क समेत पाएको र सो निर्णय त्रिवि कार्यकारी परिषदमा पठाइएको थियो । सहमति अनुसार सबै प्रक्रिया पूरा भई अनुमोदनका लागि पठाइएको निर्णय अहिलेसम्म कार्यान्वयन नहुँदा आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको संघर्ष समितिका संयोजक राईको भनाइ छ ।
क्याम्पसका आंशिक प्राध्यापक सुरेन्द्र कार्कीका अनुसार क्याम्पसमा विगतका दुई बर्से कोर्सहरूको पनि समयावधि बढेको छ । यो अवस्थामा थप जनशक्ति आवश्यक देखिन्छ, तर त्रिविले भएका निर्णयहरू समेत कार्यान्वयन नगरेर आंशिक प्राध्यापकहरूको श्रम शोषण गरी रहेको छ । त्रिभुवन विश्वविद्यालयले सहमति भएका निर्णय समेत कार्यान्वयन नगर्नु दुःखद भएको प्राध्यापक चन्दन कटुवालले बताउनुभयो । आंशिक प्राध्यापकहरूको आन्दोलनका बारेमा केन्द्रीय विभाग र क्याम्पस प्रशासन जानकारी भएकाले माग सम्बोधन नहुन्ज्यालसम्म पूर्व निर्धारित आन्दोलनहरू यथावत् रहने साथै माग पूरा नभएसम्म पठनपाठन प्रभावित हुने प्राध्यापक नवराज सापकोटाले बताउनुभयो ।
भोजपुर बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्काय, शिक्षा शास्त्र सङ्काय तथा मानविकी र सामाजिक शास्त्र सङ्काय गरी तीन सङ्कायमा ६ सय बढी विद्यार्थी अध्ययनरत छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij