Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

सूचनाको हकबारे विद्यार्थीलाई अभिमुखीकरण

सूचनाको हकबारे विद्यार्थीलाई अभिमुखीकरण

म्याग्दी  : सूचनाको हकबारे नागरिकस्तरमा व्यापक रुपमा जनचेतना जागृत गर्ने उद्देश्यले विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको छ । राष्ट्रिय सूचना दिवसका अवसरमा बेनीस्थित प्रकाश माविमा अध्ययनरत विद्यार्थीहरुलाई सूचनाको हकसम्बन्धी जानकारी, सूचना माग्ने तरिका र सूचनाको सही प्रयोगका बारेमा अभिमुखीकरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजना र जिल्ला हुलाक कार्यालयको सह–आयोजनामा कक्षा ११ विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई संविधानमा व्यवस्था भएको सूचनाको हकसम्बन्धी अधिकारका बारेमा अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा भुवन रानाले सूचनाको हक, सूचना कसरी माग्ने, सूचना मागको महत्त्वलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

हरेक नागरिक सूचनाको मालिक भएकाले आफूलाई आवश्यक पर्ने सूचनाहरू सजिलै सम्बन्धित निकायबाट माग्न सकिने कानुनी व्यवस्था भएको उहाँको भनाइ थियो । सूचनाको हकबारे समाजमा जनचेतना जगाउन विद्यार्थीको महत्त्वपूर्ण भूमिका हुने जिल्ला प्रशासनका सुब्बा रानाले बताउनुभयो ।

कार्यक्रममा प्रकाश माविका सहायक प्रधानाध्यापक एवम् सूचना अधिकारी विनय श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले सूचनाको हक तथा प्रयोगका विषयमा आफ्नो भनाइ राख्नुभएको थियो

नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत धारा २७ मा सूचनाका हकसम्बन्धी व्यवस्था गरिएको छ । आम नागरिकले सूचना माग्न नआए पनि सार्वजनिक कार्यालयले सूचना तीनतीन महिनामा सार्वजनिक गर्नुपर्ने विधि भएअनुसार कार्यान्वयन गर्नुपर्ने सूचनाको हकसम्बन्धी ऐनमा उल्लेख छ ।

प्रत्येक नागरिकले आफ्नो हकको सूचना पाउनका लागि सम्बन्धित निकायको सूचना अधिकारीलाई गएर निवेदन दिनुपर्ने र त्यस अनुसार कार्यालयले सूचना १५ दिनभित्र उपलब्ध गराउनुपर्नेछ ।

१५ दिनमा सूचना उपलब्ध नभएमा १६ औँ दिनमा त्यही  कार्यालयका प्रमुखमा उजुरी दिने र त्यसको जानकारी थप ७ दिनमा उपलब्ध गराउनुपर्ने ऐनमा उल्लेख छ ।

त्यस अवधिमा पनि उपलब्ध नभएमा त्यसको २३ औं दिनमा सूचना अधिकारी र कार्यालय प्रमुखविरुद्धमा राष्ट्रिय सूचना आयोगमा उजुरी दिनसकिने व्यवस्था छ । सूचना नदिने कार्यालय प्रमुख र सूचना अधिकारीलाई जरिवाना र सजायसमेतको कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij