बाजुरा : बाजुराको त्रिवेणी नगरपालिका–५ मा रहेको रामेश्वरी माविमा खानेपानीको चरम अभाव भएको छ । सो विद्यालयमा विगत छ वर्षदेखि खानेपानीको समस्या हुँदै आएको भए पनि अहिलेसम्म कतैबाट त्यो समस्या समाधान भएको छैन ।
विद्यालयमा खानेपानी नहुँदा यहाँका बालबालिकाहरुले आफ्नो घरदेखि बोतलमा पानी ल्याएर खाने गर्छन् । विद्यालयमा पानी नभएका कारण शौचालय दुर्गन्धित छन् ।
विद्यालयमा खानेपानीको चरम अभावकै कारण यहाँका शौचालय दुर्गन्धित बन्दै गएको राशेहवरी माविले जनाएको छ । विद्यालयमा खानेपानी नहुँदा घरदेखि बोतलमा पानी ल्याएर खानु परेको रामेश्वरी मावि किम्नीका कक्षा १० मा अध्यनरत छात्र सुशील बुढाले बताउनुभयो ।
उहाँले भन्नुयो, “विद्यालयमा धारा छ, तर पानी आउँदैन । शौचालय छ, तर सफा छैन । त्यसैमा दिसा पिसाव गर्न मिदैनन् । अहिले दिसा पिसाव लागेको बेला पनि यहाँका अन्य केही नजिकका घरका शौचालयमा जाने गर्छु । ”
अन्य ठाउँका विद्यालयमा बालमैन्त्री शौचालय समेत छन् । ती विद्यालयमा धारा पनि त्यस्तै छन् । हाम्रो यहाँ भने दिसा पिसाव लागेपछि घरमा जानुपर्ने समस्या छ । दिसा पिसाव लागेको बेला घरमा जाँदा विद्यालयको पढाई समेत छुट्ने गरेको बुढाले बताउनुभयो ।
यो विद्यालयमा १३० छात्र र १५० छात्रा गरी २८० जना विद्यार्थी अध्ययनरत छन् । यी बालबालिकाहरुलाई विद्यालयमा खानेपानी नहुँदा शौचालय त खानकै लागि पनि निकै समस्या हुने गरेको छ ।
गाउँ नजिक भएका बालबालिकाहरुलाई दिसा पिसाव र खानेपानी खान घरमा जान सहज भए पनि घर टाढा भएका बालबालिकाहरुलाई भने विद्यालयमा दिसा पिसाव गर्न निकै समस्या हुने गरेको रामेश्वरी माविका प्राधानाध्यापक टेकराज जोशीले बताउनुभयो ।
विद्यालय व्यस्थापन समितिको बैठक बसालेर हामीले पालिकालाई खानेपानीका लागि माग गरेको पत्र समेत नगरपालिकामा पठाएको हो । यो विद्यालयमा खानेपानीको चरम अभाव छ भन्ने कुरा त त्यहाँका सबैलाई थाहा छ । तर पनि पालिकाले यो विद्यालयमा कुनै प्रकारको सहयोग नगरेको प्राधानाध्यापक जैशीले बताउनुभयो ।
विद्यालयमा विगत पाँच छ वर्षदेखि खानेपानीको निकै अभाव छ । यसका लागि आफुले कार्यपालिकाको बैठकमा समेत धेरै पटक कुरा राख्ने गरेको छु । तर पनि उतादेखि केही सुनुवाइ नभएको त्रिवेणी नगरपालिका –५ का वडा अध्यक्ष डिल्ली बुढाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “त्रिवेणीका अन्य वडाका विद्यालयमा बालमैन्त्री धारा निर्माण गरेका छन् । त्यसैमा शौचालयमा बालमैन्त्री रहेका छन् ।” तर हाम्रो यो किम्नीको रामेश्वर माविमा भने पुस्तौदेखि अहिलेसम्म खानेपानीको चरम अभाव हुँदै आएको बुढाले बताउनुभयो ।
खानेपानी निर्माणमा नै यस नगरपालिकाले वर्षेनी करोडौ रुपियाँ खर्च गर्ने गरेको छ । तर गाउँ बस्तीमा भने अँझै खानेपानीको समस्याबाट मुक्त हुन सकेका छैन ।
यता त्रिवेणी नगरपालिकाले भने यहाँका सबै वडाका गाउँ बस्तीमा एक घर एक धारा निर्माण गर्ने अभियान सञ्चालन गरेकाले केही समयपछि यहाँका सबै टोल तथा विद्यालय खानेपानीको समस्याबाट मुक्त हुने जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij