बाँके : बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीस्थित सिधनियाघाटमा पक्कि पुल निर्माण कार्यमा करिब ५० प्रतिशत प्रगति भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार पुल निर्माणको कार्यमा हालसम्म भौतिक र वित्तीय गरी करिब ५० प्रतिशत प्रगति भएको छ । योजना प्रमुख भण्डारीले भन्नुभयो, “सम्झौता भएपछि करिब एक वर्ष पुलको डिजाईनमा समय लाग्यो, अब असारभित्र निर्माण सम्पन्न हुने गरि काम तीव्र गतिमा भइरहेको छ ।”
सिधनियाघाटमा करिब डेढ दशक अघि निर्माण सम्पन्न भएको पुल साँघुरो भएपछि फराकिलो पुल निर्माण थालिएको हो । पुल निर्माणका लागि २०७९ माघ १० गते लुम्बिनी रौताह बन्धन भगवती जेभी काठमाडौँसँग ५३ महिनामा काम सम्पन्न हुने गरी सम्झौता भएको हो । पुलको लागत भ्याट सहित एक अर्ब १९ करोड रुपियाँ रहेको छ ।
सिधनियाघाटमा अब ७०० मिटर पुल र एकहजार ४८० मिटर एप्रोच सडक र ४ किलोमिटर नदी नियन्त्रणको काम एकसाथ सम्पन्न हुने योजना प्रमुख भण्डारीको भनाइ छ ।
यसैगरी, ३०० मिटर ढलानको काम हुनेछ । हालको ३५० मिटर लामो पुल नजिकै नयाँ पुल निर्माण थालिएको हो । स्थानीयले पुलको लम्बाई ४४० मिटर थप गरी एक हजार १४० मिटर पुर्याउन माग गरेपछि योजना कार्यालयले निर्देशनालयमा लिखित अनुरोध सहितको पत्र पठाएको छ । आयोजनाका निर्देशकसहितको उच्च स्तरीय टोलीले पुल निर्माण स्थलमै पुगेर स्थलगत जानकारी लिएर फर्किसकेको छ ।
हुलाकी सडक पछिल्लो समय नेपालगञ्जबाट दाङ हुँदै पूर्वतर्फ जानका लागि वैकल्पिक मार्गको रुपमा प्रयोग भइरहेकाले फराकिलो पुल बनेपछि थप सहज हुने भएको छ । साँघुरो पुल भएका कारण हाल सवारी साधनहरु पालो कुरेर पुल पार गर्नुपर्ने बाध्यता रहेको छ । निर्माणाधिन पुल ११ मिटर चौडाईको भएकाले पुलमा सवारीसाधन सहज वारपार गर्न सकिनेछ । भारतीय सीमासँग जोडिएको नरैनापुर गाउँपालिका समेत यहि पुल भएर जानुपर्दछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij