Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

चुरेको पानी चुरे क्षेत्रमै रोक्न स्थलगत

चुरेको पानी चुरे क्षेत्रमै रोक्न स्थलगत

ढल्केबर : धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधि तथा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन एकाइ ढल्केबरका प्राविधिक टोलीले मङ्गलबार पानीको स्रोत चुरे क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । चुरेको पानी चुरे क्षेत्रमा रोकेर जमिनमुनि जल पुनःभरण गर्ने उपाय खोज्नका लागि मिथिला नगरपालिकाभित्र पर्ने चुरे क्षेत्रको स्थलगत अवलोकन गरिएको हो ।

कार्यान्वयन एकाइका प्रमुख प्रेमीप्रसाद साहले खोलाबाट बगेर खेर गइरहेको पानीलाई जमिनमुनि जल पुर्नभरण गर्ने उपाय खोज्ने उद्देश्यले औहरी र बसही खोलाको मुहान क्षेत्रसम्म अवलोकन गरिएको बताउनुभयो । भौगोलिक र प्राविधिक दृष्टिले उपयुक्त स्थानमा चेक ड्याम निर्माण गर्न सकिने बताउँदै उहाँले यसका लागि वन मन्त्रालय र विज्ञ समूहको थप अध्ययन पश्चात निर्माण प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, "यस वर्ष लामो खडेरीका कारण तराईमा जमिनमुनिको पानी तल पुगेको छ । जसले गर्दा चापाकल, इनार र स्यालो ट्युबवेलबाट पानी आउन छाडेको छ ।" खेत सिँचाइमा पनि समस्या देखिएको छ । यदि चुरे क्षेत्रमा चेक ड्यामलगायतका संरचना निर्माण गरी बगेर जाने पानी रोक्न सकियो भने जमिनमुनि पुनःभरण हुन्छ र भूमिगत पानीको सतह माथि आउने प्रमुख साहको भनाइ छ ।

मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले वर्षाको पानी चुरे क्षेत्रमा रोक्ने उपायका लागि निरन्तर पहल गर्दै आएको बताउनुभयो । उहाँले पालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै चुरेबाट उत्पत्ति भएको खोलाहरुमा चेक ड्याम निर्माण गरेर बगेर खेर गइरहेको पानीलाई जमिनमुनि पठाउन सकियो भने अहिले देखिएको पानीको सङ्कटमा सुधार हुने जानकारी दिनुभयो ।

कार्यान्वयन एकाइका प्राविधिक रामईश्वर साहले औरही खोलामा चार र बसही खोलाको दुई स्थानमा चेक ड्याम निर्माण गर्न प्रारम्भिक ठाउँ छनोट गरिएको बताउनुभयो । थप अध्ययनपश्चात् भौगोलिक तथा प्राविधिक हिसाबले उचित हुने स्थानमा चेक ड्याम निर्माणका लागि प्रक्रिया अगाडि बढाउने उहाँले जानकारी दिनुभयो । वर्षाको पानी चुरे क्षेत्रमा रोक्नुको विकल्प नभएको बताउँदै यसले जमिनमुनि पानीको भण्डारण बढ्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij