Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

रूपनीमा खानेपानीको समस्या

रूपनीमा खानेपानीको समस्या

कल्याणपुर (सप्तरी) : सप्तरीको रूपनी गाउँपालिका-१ मा विगत तीन महिना देखि भएको खानेपानी सङ्कट समाधान हुने भएको छ । गाउँपालिका अध्यक्ष दिनेशकुमार यादव वडामै पुगेर त्यहाँका स्थानीयहरूसँग छलफल गर्दे खानेपानी समस्याको समाधानमा जुटनुभएको हो ।

रूपनीको वडा १ मा तीन महिनादेखि सबै ट्युबवेल सुकिसकेको छ भने पाँच सयदेखि एक किलोमिटरको दुरी तय गरेर स्थानीयले पानी ल्याउने गरेका छन् । त्यसमा पनि सबैभन्दा बढी प्रभावित त्यहाँको सदा बस्ती भएको हो ।

सदा बस्तीमा एक सय घरधुरीका करीब पाँचसय जनसंख्या मावि रायपुरको ट्युववेलबाट पानी ल्याएर काम चलाउँदै गरेको स्थानीय सत्यनारायण यादवले बताउनुभयो । “हुन त यो पुरै वडाका सबै ट्युबवेल सुकिसकेको छ तर, सबैभन्दा गम्भिर खानेपानीको समस्या सदा बस्तीमा छ,” यादवले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष यादवसँगै राष्ट्रिय कृषक समूह महासंघ नेपाल रुपनी गाउँपालिकाका कार्यक्रम सहायक रामनारायण मेहतासहितको टोलीले वडाको अवलोकन गर्दे स्थानियहरुलाई दुई–तीन भित्र सोलार प्यानल जडानसहितको समर्सियल बोरिङ मार्फत पानी उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको सहयोगमा तत्काल एउटा समर्सियल बोरिङ दुई–तीन भित्रै सञ्चालनमा ल्याइने छ र यसबाट सदाबस्तीको खानेपानी समस्या समाधान हुने अध्यक्ष यादवले विश्वास व्यक्त गर्नुभयो ।

महासङ्घका महतोले दुई दिनभित्र स्थानियलाई खानेपानी उपलब्ध हुने गरी बोरिङ जडानको काम सुरु गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार बोरिङ सम्पन्न भएपछि बस्तीका सबै घरधुरीलाई सहजै खानेपानी उपलब्ध हुनेछ ।

गाउँपालिका अध्यक्ष यादवसँग स्थानीयवासीले तत्काल समस्या समाधान भए पनि दीर्घकालीन रूपमा खानेपानी समस्याको समाधान गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij