धनगढी : कैलाली कारागारका जेलर फेरिएका छन्। कारागार विभागले नयाँ जेलरको रुपमा प्रकाश ढुङ्गानालाई पठाएको छ।
केही दिन अगाडि ज्यान जाने गरी कैदीबिच हिंसात्मक झडप भएपछि तत्कालीन जेलर वसन्त खत्रीको सरुवा भएको थियो। एक हप्ताका लागि कारागारको जेलरको रुपमा काज बिदामा जालन्धर भुसाल आउनुभएको थियो। उहाँको काज बिदा सकिएपछि कारागार विभागले ढुङ्गानालाई नयाँ जेलरको रुपमा पठाएको हो।
जेलर ढुङ्गानाले आजदेखि कार्यभार सम्हालेको कारागार प्रशासनले जानकारी दिएको छ। अघिल्लो शुक्रबार मध्यरातमा ब्लक ए का कैदीले ब्लक बी मा रहेका कैदीमाथि आक्रमण गर्दा धनगढी उपमहानगरपालिका ४० वर्षीय भरत चौधरीको ज्यान गएको थियो।
चौधरी लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए। घटनामा ४७ जना कैदी घाइते भएका थिए। जसमध्ये तीन जनाको काठमाण्डौंमा उपचार भइरहेको छ।
कारागार घटनापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको पनि गृहमा सरुवा भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij