नुवाकोट: आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले नुवाकोटको पूर्वी भेगमा विपन्न विद्यार्थीका परिवारलाई जीविकोपार्जन कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत पञ्चकन्या र दुप्चेश्वर गाउँपालिकाका विपन्न विद्यार्थीका परिवारलाई ती सामग्रीहरू हस्तान्तरण गरिएको हो ।
उक्त दुई गाउँपालिकामा सञ्चालित एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत एक हजार तीन सय ६७ जना विपन्न विद्याथीहरु अनुबन्धित भएका छन् । जसमध्ये पञ्चकन्या गाउँपालिकाका पाँच सय ६५ र अन्य बाँकी दुप्चेश्वर गाउँपालिकाका विपन्न बालबालिका रहेका छन् ।
उक्त कार्यक्रम अनर्तगत आठदेखि १८ वर्ष उमेरसम्मका बालबालिका समावेश गरिएको छन् । ती वालवालिकाहरुलाई बितेको पाँच वर्षदेखि वार्षिक रूपमा पोसाक, स्टेशनरी सामान, औषधि उपचार, स्वास्थ्य परीक्षण उपलब्ध गराइएको एकीकृत सामुदायिक विकास परियोजना कार्यक्रमले जनाएको छ ।
ती विद्यार्थीमध्ये ८० परिवारलाई जीविकोपार्जन सुधारका लागि कृषि कार्यक्रम, पशुपालन तथा भेटेरिनरी सेवा प्रदान गरिएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार विपन्न परिवारलाई हस्तान्तरण गरिएका सामग्रीहरूमा नौ थान माहुरीसहितको घार, प्लास्टिक टनेल, हजारी, स्प्रेयर, गार्डेन पाइप, बीउ बिजन जस्तापाता, ग्याल्वोनाइज्ड तार जाली, छाता किल्ला, सिमेन्टलगायतका सामान तथा उपकरणहरू रहेका छन् ।
यसवाट उनीहरूको जीविकोपार्जन तथा आयआर्जनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । दुप्चेश्वर र पञ्चकन्यामा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत दुप्चेश्वर गापाको रामती, सिम्ताङ, करेजुङ, शिखरबेशी, गोल्फुभन्ज्याङ, राउतबेसीका ५९ जना र पञ्चकन्या गापाको घलेभञ्ज्याङ, मजुवा र थप्रेकका २१ जना गरी कुल ८० जना विपन्न बालबालिकाका अभिभावकहरूलाई तरकारी खेती, माहुरी पालन र गोठ सुधारका लागि ती सामग्रीहरू हस्तान्तरण गरिएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij