Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

बाढी–पहिरोले ९ सडक पूर्ण अवरुद्ध, १४२ स्थानमा एकतर्फी आवागमन

बाढी–पहिरोले ९ सडक पूर्ण अवरुद्ध, १४२ स्थानमा एकतर्फी आवागमन

काठमाडौँ : देशका विभिन्न ठाउँमा आएको बाढी–पहिरोका कारण ९ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १४२ स्थानमा एकतर्फी आवागमन भइरहेको सडक विभागले जनाएको छ।

रसुवाको रसुवागढी–स्याफ्रुबेसी सडकखण्डमा कुलुङस्थित मितेरी पुल बगाउँदा चीनसँगको आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ। भोटेकोसीले कटान गर्दा सो सडक दुई सातादेखि अवरुद्ध छ।

सुनसरी–संखुवासभा जोड्ने कोशी करिडोर पनि बरुण नदीमा बनेको डाइभर्सन बगाउँदा अवरुद्ध भएको विभागले जनाएको छ। यस्तै ताप्लेजुङको फाक्ताङ्लुङ ५ र ६ जोड्ने रानीपुलको बेलीब्रिज बाढीले बगाउँदा तमोर करिडोर रोकिन पुगेको छ।

सिन्धुपाल्चोकको कोदारीमा गएको पहिरोले अरनिको राजमार्ग बन्द भएको छ भने पश्चिम रुकुमको चोखाखोला, रिजगाड, उसुम खोला र छलगाड क्षेत्रमा गएको लेदोमाटोसहितको पहिरोका कारण भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध छ।

त्यस्तै रोल्पाको पुतलाचौर–ग्राम्जिम क्षेत्रमा गएको पहिरोले सहिद राजमार्ग, बाग्लुङको काली खोलामा आएको पहिरोले रिडी–तानसेन–कोरला सडक र दैलेखको बग्डुल्लामा गएको पहिरोले खुलालु–जुम्ला सडक पूर्ण रूपमा अवरुद्ध भएको विभागले जनाएको छ।अवरुद्ध सडक खोल्ने कार्य भइरहेको र आवश्यक उपकरण परिचालन गरी पहिरो हटाउने प्रयास जारी रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट