कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाले भलमन्सा ऐन (२०७८) जारी गरेसँगै नयाँ चयन भएका भलमन्सालाई प्रमाणपत्र प्रदान गरेको छ । पालिकाले शुक्रवार भलमन्साहरुलाई प्रमाणपत्र र शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका –९ ढिक्का कुण्डाका वीरबहादुर चौधरी गत माघ महिनामा भलमन्सा पदमा चयन हुनुभयो । २६ चौधरी परिवार रहेका डाँडा कुण्डामा यस पटक चौधरी समुदायबाट वीरबहादुर भलमन्सा पदमा सर्वसम्मत छनौँट हुनुभएको हो ।
चौधरी समुदायले सर्वसम्मत अथवा निर्वाचनबाट भलमन्सा छनौट गर्दैआएका छन् । यसअघि डाँडा कुण्डामा लोकेन्द्र चौधरी भलमन्सा रहनुभएको थियो । उहाँले झन्डै पाँच वर्ष भलमन्सा भएर सेवा गरेको अनुभव सुनाउनुभयो । “भलमन्साको छुट्टै जिम्मेवारी थियो, उहाँले भन्नुभयो– ‘गाउँठाउँको विकास, थारु समुदायका समस्या सुल्झाउनमै पाँच वर्ष बितेको थाहै भएन ।”
यस पटक डाँडा कुण्डामा आफुले भलमन्साको जिम्मेवारी पाएको वीरबहादुरले बताउनुभयो । चौधरी समुदायको हक र हितको पक्षमा काम गर्ने उहाँले बताउनुभयो । “घरायसी झगडा, वादविवाद, सामाजिक हितको क्षेत्रमा काम गर्ने अवसर मिलेको छ” उहाँले भन्नुभयो ।
चौधरी परिवारलाई आवश्यक परेका बखत साथ सहयोग र गाउँ ठाउँको विकासमा काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । शुक्रवार बेलौरी नगरपालिकाले भलमन्सा पदमा छनौट भएको प्रमाणपत्र प्रदान गरेर थप हौसला प्रदान गरेको भन्दै उहाँले हर्ष व्यक्त गर्नुभयो ।
वीरबहादुरझैँ शुक्रवार नयाँ चयन हुनुभएका २६ जना भलमन्साहरुलाई प्रमाणपत्र प्रदान गरिएको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बताउनुभयो । नगरपालिकाले छुट्टै भलमन्सा ऐन (२०७८) पनि जारी गरेर राना थारु समुदायको पक्षमा काम गर्दैआएको नगरप्रमुख चौधरीले बताउनुभयो ।
भलमन्साहरुले विवाह व्रतबन्ध, सामान्य झैँ–झगडा आपसी समझदारीमा मेलमिलाप गर्दैैआएको बेलौरी नगर भलमन्सा समितिका संयोजक अमरसिंह चौधरीले बताउनुभयो । पछिल्लो समय लागूऔषध नियन्त्रणका लागि पनि भलमन्साहरुले गाउँठाउँमा सचेतनामूलक कार्यक्रम गर्दैआएको उहाँले बताउनुभयो ।
भलमन्साको अगुवाइमा बेलौरी नगरपालिका वडा २ र ५ मा सडक सरसफाइ कार्य सम्पन्न गरिएको उहाँले बताउनुभयो । थारु समुदायले सँदियोदेखि नै भलमन्सा (बरघर) चयन गर्दैआएका छन् ।
थारु समुदायको सेवा गरेबापत भलमन्साहरुले समुदायबाट लाभ पनि लिने गरेका थारु अगुवाहरू बताउँछन् । समुदायको अवस्था हेरि भलमन्साले वार्षिक रूपमा प्रतिपरिवारबाट १०–१५ किलो धान लिने प्रचलन रहेको बेलौरी भलमन्सा समितिका सम्पर्क व्यक्ती कृष्ण चौधरी बताउनुहुन्छ ।
भलमन्साहरुले समुदायमा झैँ–झगडा, विवाद मिलाउने, सामूहिक निर्माणका कार्यहरू गर्दैआएका उहाँले बताउनुभयो । “भलमन्साको अगुवाइमा राना थारु समुदायले घरपालुवा जनावरलाई सडक छेउमा नबाँध्न, घर–आँगन, घर अगाडिको सडक सफा राख्ने लगायतका क्रियाकलाप गर्दैआएका छन्” उहाँले भन्नुभयो ।
राना समुदायले असार महिनामा नयाँ भलमन्सा चयन गर्दैआएका छन् भने चौधरी समुदायले माघ महिनामा भलमन्सा छनौट गर्दैआएका छन् । नयाँ छनाँैट भएर आएका २६ जना भलमन्साहरुलाई शुक्रवार दोस्रो पटक प्रमाणपत्र र शुभकामना प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
यसअघि गत फागुन महिनामा बेलौरी नगरपालिकाले पहिलो पटक भलमन्साहरुलाई प्रमाणपत्र प्रदान गरेको थियो । बेलौरी नगर भलमन्सा समितिमा एकसय सात भलमन्सा दर्ता छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij