काठमाडौं : चितवनका २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका सात पालिकामा रहेका एक लाख २८ हजार ६६५ जनसङ्ख्या वर्षात्का कारण प्रभावित बन्ने देखिएको छ ।
बाढीका कारण सबैभन्दा बढी राप्ती नगरपालिकामा १० हजार १०९ घरका ५० हजार ९५० जना प्रभावित बन्ने तथ्याङ्कले देखाएको छ । यस्तै, भरतपुर महानगरपालिकामा छ हजार ६३५ घरका ३३ हजार १७५, माडी नगरपालिकाका तीन हजार ९४६ घरका १९ हजार ७३० जना, रत्ननगर नगरपालिकाका दुई हजार ३८१ घरका ११ हजार ९०५ जना प्रभावित बन्ने प्रारम्भिक तथ्याङ्कले देखाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै, कालिका नगरपालिकाका एक हजार पाँच परिवारका पाँच हजार २५ जना, खैरहनी नगरपालिकामा तीन सय २० परिवारका एक हजार ६००, इच्छाकामना गाउँपालिकामा एक हजार २५६ परिवारका छ हजार २८० जना प्रभावित हुने देखिएको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए ।
बाढीका कारण हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षाका लागि सबै तयारी गरिएको उनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij