रौतहट : रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरमा लागूऔषध दुर्व्यसन नियन्त्रण, सामाजिक विकृति हटाउन तथा गाउँमा शान्ति र अनुशासन कायम गर्न स्थानीयवासीहरू जुटेका छन्। समाज सुधारका लागि स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, किसान, सञ्चारकर्मी तथा भद्रभलादमीको सहभागितामा समिति गठन गरिएको हो। गाउँ समाजलाई सभ्य, अनुशासित र व्यवस्थित बनाउने उद्देश्यले बसेको बैठकले लागूऔषध तथा अन्य नशालु पदार्थको सेवन नियन्त्रण गर्ने, युवालाई कुलतबाट जोगाउने र सामाजिक सद्भाव कायम राख्ने निर्णय गरेको छ। बैठकले समितिमा आबद्ध व्यक्तिहरूले चुरोट, खैनीलगायत कुनै पनि नशालु पदार्थ सेवन नगर्ने प्रतिबद्धता जनाएको छ। समितिमा आबद्ध व्यक्तिले त्यस्ता पदार्थ सेवन गरेको पाइएमा ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको सहभागी भोला पाण्डेले जानकारी दिए।
त्यसैगरी गाउँका कुनै पनि व्यक्तिले गाँजा, चरेस, वाटर गनलगायत लागूऔषध तथा नशालु पदार्थ सेवन गरेको पाइएमा जरिवाना गर्ने निर्णयसमेत बैठकले गरेको छ। समाजमा बढ्दै गएका विकृति, विसङ्गति र कुलत नियन्त्रण गरी सकारात्मक सामाजिक वातावरण निर्माण गर्ने उद्देश्यले स्थानीयस्तरबाटै यस्तो पहल गरिएको सहभागीहरूले बताएका छन्। समितिमार्फत निर्णय कार्यान्वयन गर्दै समाज सुधारका अभियानलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।
उक्त बैठकमा मौलापुर नगरपालिकाका उपप्रमुख नागेन्द्र यादव, वडा नम्बर १ का अध्यक्ष जयनाथ कुशवाहा, मेयरका प्रत्याशी रामाप्रवेश यादव, कृष्ण तिवारीसहित स्थानीय जनप्रतिनिधि, समाजसेवी, किसान, बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। स्थानीयस्तरमै सामूहिक प्रतिबद्धता जनाउँदै समिति गठन गरिएपछि मर्यादपुरमा लागूऔषध नियन्त्रण र सामाजिक विकृति न्यूनीकरणको अभियान अघि बढाउने तयारी गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij