काठमाडौँ : फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी भई परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार स्वदेश फर्किएका छन् । आगामी नोभेम्बरमा टर्कीको अन्टाल्यामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको ३१औँ सम्मेलन (कोप–३१) का लागि राजनीतिक सहमति निर्माण गर्न र विश्वव्यापी जलवायु एजेन्डालाई अघि बढाउन उनले ती देशको भ्रमण गरेका हुन् । अस्ट्रेलिया, फिजी र टुभालु सरकारको निमन्त्रणामा मन्त्री खनाल त्यसतर्फ प्रस्थान गरेका थिए ।
स्वदेश फर्किएपछि भ्रमणका उपलब्धिबारे जानकारी दिँदै मन्त्री खनालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु संवेदनशीलता उजागर गर्न, न्यायोचित जलवायु वित्त परिचालन गर्न र अस्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण फलदायी रहेको बताए । अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहतका लागि १५ मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको उनले जानकारी दिए । योसँगै अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता २६ मिलियन अस्ट्रेलियन डलर पुगेको मन्त्री खनालले स्पष्ट पारे ।
भ्रमणका क्रममा मन्त्री खनालले अक्टोबर ६ मा फिजीको नाडीमा आयोजित ‘प्रि–कोप लिडर्स प्लेनरी’लाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले हिमाली तथा प्रशान्त महासागरका टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण समान प्रकृतिका जोखिम सामना गरिरहेको उल्लेख गरे । हिमनदी पग्लिने र समुद्री सतह बढ्ने समस्या एउटै विश्वव्यापी जलवायु संकटका परस्पर जोडिएका पक्ष भएको बताउँदै उनले हिमालदेखि समुद्रसम्मका राष्ट्रबिच सहकार्य आवश्यक रहेको धारणा राखे । नेपालको भोटेकोशी जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘हिमाली सुनामी’को संज्ञा दिँदै मन्त्री खनालले जलवायु परिवर्तनमा न्यून योगदान रहेका नेपालजस्ता मुलुकले त्यसको गम्भीर मूल्य चुकाउनु परेको यथार्थ अन्तर्राष्ट्रिय समुदायमाझ राखेका थिए ।
कोप–३१ का लागि नेपालका चार प्राथमिकता प्रस्तुत गर्दै मन्त्री खनालले विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रतिको प्रतिबद्धता दोहोर्याए । ऋणको भार नथपिने गरी अनुदानमा आधारित अनुकूलन वित्त, हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारीको विकासमा उनले विशेष जोड दिए । टुभालु भ्रमणका क्रममा मन्त्री खनालले समुद्री कटान र तीव्र ज्वारभाटाको जोखिममा रहेको फुनाफुतीस्थित ‘कजवे’ क्षेत्र तथा टुभालु कोस्टल एडाप्टेसन प्रोजेक्टअन्तर्गत निर्माण गरिएका संरचनाको प्रत्यक्ष अवलोकन गरे ।
अस्ट्रेलिया भ्रमणका दौरान अक्टोबर ८ मा मेलबर्नस्थित कमनवेल्थ पार्लियामेन्ट कार्यालयमा अस्ट्रेलियाकी विदेशमन्त्री पेन्नी वोङसँग मन्त्री खनालको द्विपक्षीय वार्ता भयो । वार्तामा उनले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको विद्यार्थी भिसा प्रक्रिया निष्पक्ष, सहज र अनुमानयोग्य बनाउन आग्रह गरे । यसका साथै प्राविधिक तथा व्यावसायिक शिक्षा, विश्वविद्यालयबीच संयुक्त अनुसन्धान, संयुक्त डिग्री कार्यक्रम र अस्ट्रेलिया अवार्ड्स छात्रवृत्तिको कोटा वृद्धि गर्न सहकार्यको प्रस्ताव समेत राखे ।
सोही दिन सिड्नीमा न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्ससँग पनि उनको भेटवार्ता भयो । भेटमा प्रिमियर मिन्सले नेपालको बाढी विपत्प्रति व्यक्त गरेको समवेदना र ऐक्यबद्धताका लागि मन्त्री खनालले धन्यवाद दिए । सिड्नीको वेस्टर्न सिड्नी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपालसँग सिधा हवाई सम्पर्क विस्तार गर्ने सम्भावना तथा नेपाली समुदायको भाषा, संस्कृति र सामुदायिक केन्द्रलाई सहयोग गर्ने विषयमा पनि उनीहरूबिच छलफल भयो । यसै क्रममा मन्त्री खनालले क्यानबेरामा अस्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनसँग भेट गरी नेपाल–अस्ट्रेलिया सम्बन्ध र नेपाली विद्यार्थी तथा प्रवासी नेपाली समुदायका चासोबारे कुराकानी गरे ।
मन्त्री खनालले मेलबर्न, सिड्नी र क्यानबेरामा अस्ट्रेलियामा बसोबास गर्ने दुई लाखभन्दा बढी नेपाली समुदायका प्रतिनिधि, प्राज्ञ, व्यवसायी तथा विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए । नेपालमा आएको बाढीपछि राहत तथा सहयोग जुटाउन प्रवासी नेपालीले देखाएको तत्परताको प्रशंसा गर्दै उनले विपद्पछिको पुनर्निर्माणमा उनीहरूको सीप, ज्ञान र प्रविधि उपयोग गर्न आह्वान गरे । नेपालमा पुनर्निर्माणका लागि प्रारम्भिक अनुमानअनुसार करिब पाँच अर्ब अमेरिकी डलर बराबरको स्रोत आवश्यक पर्ने उल्लेख गर्दै मन्त्री खनालले देशको पुनर्निर्माण प्रक्रियामा हातेमालो गर्न प्रवासी नेपालीलाई आग्रह गरे । भ्रमणको अन्त्यमा क्यानबेरास्थित नेपाली राजदूतावासको निरीक्षण गर्दै उनले दूतावासका अधिकारीहरूलाई कन्सुलर सेवा छरितो, झन्झटरहित र प्रविधिमैत्री बनाउन निर्देशन दिएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij