Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

राप्तीका पहाडी बस्तीलाई चेपाङ संरक्षित क्षेत्र घोषणा

राप्तीका पहाडी बस्तीलाई चेपाङ संरक्षित क्षेत्र घोषणा

चितवन : पूर्वी चितवनको राप्ती नगरपालिकाले पहाडी भूभागलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरेको छ । सो नगरको १५औँ नगरसभाले पालिकाअन्तर्गत रहेका वडा नं–१, ३, ६, १०, ११ र १२ लाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्ने प्रस्ताव पारित गरेको हो ।

सीमान्तकृत समुदायको सूचीमा सूचीकृत चेपाङ समुदायको आर्थिक तथा सामाजिक विकासका लागि संरक्षित क्षेत्र घोषणा गरी प्याकेजका काम गर्ने योजना रहेको मेयर शमशेर लामाले बताए । राप्तीमा चेपाङ समुदायको दुई हजार ५०० घरधुरी तथा ११ हजार जनसंख्या रहेको छ । चेपाङ समुदायको आर्थिक अवस्थामा सुधार तथा शिक्षा, स्वास्थ्य र आयआर्जनको काम प्राथमिकताका साथ गर्ने गरी संरक्षित क्षेत्र घोषणा गर्ने प्रस्ताव नगरसभाबाट पारित भएको हो ।

स्थानीय, प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ । सो पालिकाले जनता आवास कार्यक्रमलाई चेपाङ समुदायमा लक्षित गरेर नीति तथा कार्यक्रम ल्याएको छ । पालिकाको पहाडी क्षेत्रमा युगौँदेखि बसोवास गरेर पनि अशिक्षा र गरिबीको रेखामुनि रहेका चेपाङ समुदायको आर्थिक तथा सामाजिक विकास गर्न संघ र प्रदेश सरकारसँग समन्वय गरी आवास निर्माण गरिने छ ।

आगामी आर्थिक वर्षमा राप्ती नगरपालिकाभित्र रहेका चेपाङसहित अतिविपन्न परिवारलाई कम्तीमा १०० वटा घर निर्माण गरी हस्तान्तरण गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । आयआर्जनको माध्यमबाट चेपाङ जातिको जीवनस्तर उकास्न चिउरी चमेरो कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । यसका लागि प्रदेश सरकारको सहयोग माग गरिने छ ।

चेपाङ बालबालिकाको शिक्षाका लागि सो नगरपालिकाले छात्रावास सञ्चालन गर्ने भएको छ । सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा पहाडी क्षेत्रका कान्दा, यौरालीटार, थाकलटार, स्वामिटार, महादेवटार र बजरहट्टीलगायतका अन्य विद्यालयमा छात्रावास सञ्चालन गर्ने जनाइएको छ । विद्यालयमा विद्यार्थीको नियमितता वृद्धि गर्न, छात्राको उपस्थिति वृद्धि गर्न तथा कक्षा छाड्ने र दोहो¥याउने दरमा कमी ल्याउन संघीय सरकारबाट प्राप्त हुन आएको दिवा खाजाको कार्यक्रम, निःशुल्क पाठ्यपुस्तक वितरण, छात्रवृत्ति वितरणको कार्यक्रम तथा सेनेटरी प्याड वितरणको कार्यक्रम कार्यान्वयनलाई थप परिष्कृत गरिने उपमेयर देवेन्द्र लामाले बताए ।

पहाडी बस्तीमा बसोवास गर्ने बासिन्दाहरुलाई व्यावसायिक खेतीमार्फत जीवनस्तर उकास्न कफी जोन कार्यक्रमलाई निरन्तरता दिइएको छ । किसानलाई दिगो आम्दानीका लागि कफीखेतीमा प्रोत्साहन गर्न राप्तीको १० देखि १३ वडामा उमारिएर रोपिएका ३ लाख कफीको बेर्ना किसानलाई अनुदानमा उपलव्ध गराइने उपमेयर लामाले बताए । वडा नं–१ को परेवाकोट, वडा नं–३ को धमिलीमा समेत कफीखेती सुरू गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको छ ।

नगरमा सञ्चालित कृषि एम्बुलेन्स किसानको हितका लागि प्रयोगमा ल्याउन किसानले आफ्नो आवश्यकतामा प्रयोग गरी उत्पादनलाई बजारसम्म लैजाने व्यवस्था गरिने छ । राप्तीमा उत्पादन भएका र निर्माण भएका हस्तकला तथा पहिचान दिने सामग्रीका लागि कोसेली घर सञ्चालनमा ल्याइने छ । किसानले उत्पादन गरेका सामग्रीको बजारीकरणका लागि कोसेली घर निर्माण गर्न लागेको उपमेयर लामाले बताए ।

चालू आर्थिक वर्षमा एक हजारभन्दा बढी युवालाई सीपमूलक तालिम दिएको जनाउँदै सो नगरपालिकाले आगामी आर्थिक वर्षमा एक हजार ५०० भन्दा बढी युवालाई सीपमूलक तालिम प्रदान गर्ने जनाएको छ । राप्तीको मुख्य–मुख्य समस्या पहिचान गरी त्यसको समाधानका लागि जनतासँग मेयर कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।नगरसभामा मेयर शमशेर लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि उपमेयर देवेन्द्र लामाले ९७ करोड ५६ लाख ५७ हजारबराबरको बजेट सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट