रत्ननगर : रत्ननगर–१५ मा रहेको अर्बिट बोर्डिङ स्कुलले एसइई–२०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र उनीहरूलाई मार्गदर्शन गर्ने शिक्षकहरूलाई सम्मान गरेको छ । यस वर्षको एसइई परीक्षामा ९३.६२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल सो विद्यालयले एक समारोहबीच सम्मान कार्यक्रम गरेको हो ।
विद्यालयका प्राचार्य भीमराज कँडेलका अनुसार परीक्षामा सहभागी ४७ विद्यार्थीमध्ये ४४ जना उत्तीर्ण भएका छन् । तीमध्ये छात्रा आरती गोलेले ३.९६ जिपिए ल्याएर विद्यालयको गौरव बढाएकी छन् । उनको यो उपलब्धिले विद्यालयको शैक्षिक वातावरण र शिक्षकहरूको मेहनतलाई उजागर गरेको प्राचार्य कँडेलले बताए ।
कार्यक्रमका प्रमुखअतिथि रत्ननगर–१५ का वडाध्यक्ष आशिक तामाङले उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरे । उनले यो उपलब्धिलाई गर्वको विषय भन्दै आगामी दिनमा पनि यस्तै नतिजा कायम राख्न प्रेरणा दिए ।
कार्यक्रममा उत्कृष्ट नतिजाका लागि मह¤वपूर्ण योगदान पु¥याउने शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो । प्राचार्य कँडेलले शिक्षकहरूको समर्पण र विद्यार्थीहरूको लगनशीलताले यो सफलता सम्भव भएको बताए ।
कार्यक्रममा वडा सदस्य इमप्रसाद पन्त, शिक्षक, कर्मचारी, अभिभावक र स्थानीयवासीको उल्लेखनीय सहभागिता थियो । अभिभावकहरूले विद्यालयको पहल र विद्यार्थीहरूको सफलताप्रति खुसी व्यक्त गरे । अर्बिट बोर्डिङ स्कुलले विगतदेखि नै शैक्षिक क्षेत्रमा उत्कृष्टता कायम राख्दै आएको छ । विद्यालयले आगामी दिनमा पनि उत्कृष्ट नतिजा र शैक्षिक गुणस्तर कायम राख्ने प्रतिबद्धता जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij