देवघाट : देवघाट गाउँपालिकावासीले स्थानीय सरकारसँग खानेपानीको समस्या समाधान गरिदिन माग गरेका छन् । आइतबार देवघाट गाउँपालिकाको वडा नं–३ स्थित ल्हुङ्ग्रिङमा भएको सार्वजनिक सुनुवाइका क्रममा स्थानीयले पालिकाभर नै खानेपानीको चरम समस्या रहेको बताउँदै जनतालाई स्वच्छ खानेपानीको पहुँचमा पु¥याउन पालिकाका जनप्रतिनिधिलाई आग्रह गरेका हुन् ।
खानेपानीजस्तो आधारभूत पूर्वाधार निर्माणमा समेत स्थानीय सरकारले बजेट नदिइएको स्थानीय रेखबहादुर थापामगरले बताए । पालिकामा १० वटा शीर्षकमा कार्यक्रम माग गर्दा जम्मा दुईवटामात्रै दिने र त्यसमा पनि खानेपानीलाई प्राथमिकतामा नराख्ने समस्या गाउँपालिकाबाट भएको उनको भनाइ छ ।
‘हामीले २०५८ सालमा बनेको खानेपानी आयोजनाले अहिलेसम्म जेनतेन काम चलाइरहेका छौँ,’ उनले भने, ‘त्यसपछि अहिलेसम्म खानेपानीको लागि बजेट पाएका छैनौँ । त्यतिबेलाको पूर्वाधारले अहिलेसम्म धान्न सक्ने अवस्थै छैन ।’ गाउँमा खानेपानी समस्या समाधानको लागि ठूलो बजेट आवश्यक परे पनि बजेट अभावका हिउँदको समय खानेपानीबाट बञ्चित हुँदै आएको उनले बताए ।
स्थानीय जौमाया गुरूङले पनि २०३४ सालमा बनेको खानेपानीबाटै अहिलेसम्म गुजारा चलाउनु परेको गुनासो गरिन् । खानेपानीको मर्मतसम्भारको लागि पालिकाबाट वर्षेनि बजेट विनियोजन गरिदिन उनले सुझाव दिइन् । ‘सबै संरचना जीर्ण भइसकेका छन् । तर, जसोतसो चलाइरहेका छौँ,’ उनले भनिन्, ‘उतिबेलाको स्रोतसाधन अहिलेसम्म कसरी चलाइरहेका छौँ भन्ने कुरामा गाउँपालिकाले ध्यान दिनु आवश्यक छ ।’
सुन्तला खेतीमा छैन सिँचाइ
देवघाट गाउँपालिकाको वडा नं.३ सुन्तलाको उत्पादनमा धेरै राम्रो ठाउँ भए पनि सिंचाई अभावमा सुन्तला उत्पादनलाई कति समयसम्म दीगो बनाउन सकिन्छ भन्ने चिन्ता थपिएको सुन्तला किसानसमेत रहेका रेखबहादुर थापामगरले बताए । ‘गाउँभरिको सुन्तला बगैँचामा सिंचाई गर्न भनेर कार्यक्रम आउँछ । तर, बजेट छ दुई लाख । त्यसले कति काम गर्ने,’ उनले प्रश्न गरे, ‘वर्सेनि आउने यस्ता टुक्रे बजेटले हामी न यताको, न उताको भएका छौँ ।’
अर्का स्थानीय हर्कबहादुर थापामगरले भने त्यही सुन्तलाको पनि निकासी कर स्थानीय सरकारले लिँदै आएकोमा आपत्ति जनाए । ‘हामीले उत्पादन गरेको सुन्तलाको निकासी कर गाउँपालिकाले लिएर हामीले चाहिँ के सुविधा पायौँ त,’ उनले भने, ‘किसानले मरिमेटी दुःख गर्ने, सरकारले निकासी करको नाममा पैसा लिने काम राम्रो भएन ।’
कम्तीमा स्थानीय स्तरमा सङ्कलन भएको राजस्वबाट त्यही ठाउँको विकास निर्माणमा टेवा पुग्न आवश्यक रहेको उनको भनाइ छ । त्यसबाहेक स्थानीयले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्नको लागि विषयगत शिक्षक आवश्यक परे पनि पूर्ति हुन नसकेको गुनासो गरेका छन् । विकास निर्माणका अन्य काममा पनि गुणस्तरीयता र पारदर्शितामा ध्यान नदिइएको स्थानीयको भनाइ छ ।
स्थानीयसमेत रहेका देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानामगरले गाउँपालिकाबाट बिल भुक्तानीमा सधैँ ढिलाइ हुने गरेको गुनासो गरे । त्यसबाहेक वडामा बजेट विनियोजन गर्दा प्राथमिकताका आधारमा गरिनुपर्ने उनले बताए । ‘वडाको आवश्यकता के हो भन्ने कुरा अध्ययन गरेर बजेट विनियोजन गर्नुपर्नेमा सबै वडामा समान बजेट विनियोजन गर्दा ग्रामीण क्षेत्रका चारवटा वडा पछि परेका छन्,’ उनले भने, ‘त्यसमा पनि यिनै ग्रामीण वडाको बजेट कटाएर ५ नम्बरमा मात्रै लगानी भइरहेको छ ।’
गाउँपालिकाले वडा नं-५ लाई मात्रै च्यापेर अन्य चारवटा वडालाई हेला गरेको उनको आरोप छ । गाउँपालिकाको कार्यालय पनि चारवटा वडाका जनतालाई झुक्याएर ५ नम्बर वडामा राखेको उनको आरोप छ । ‘पालिकाको नाम देवघाट नै राख्ने तर, जामुनेमा कार्यालय राख्ने विषयमा सहमति भए पनि सबैलाई झुक्याएर ५ नम्बरमा कार्यालय राखियो,’ उनले भने, ‘यसो गर्दा हामीलाई पायक पर्ने ठाउँमा कार्यालय भएन ।’
स्थानीयको गुनासो सुनिसकेपछि गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरूङले भने खानेपानी समस्या समाधानको लागि गाउँपालिकाले आउँदो वर्षको बजेटमा ध्यान दिने आश्वासन दिए । ‘म गाउँ डुल्दा बाटैभरि खानेपानीको पाइप देख्थेँ । र, सोँच्थेँ, गाउँमा खानेपानीको समस्या रहेन छ भनेर । तर, म भ्रममा रहेछु,’ उनले भने, ‘त्यसकारण आगामी वर्षको बजेटले खानेपानीको समस्या समाधानलाई सम्बोधन गर्ने गरी काम गर्ने वातावरण गाउँपालिकाले सिर्जना गर्छ ।’
हरेक गाउँमा एक घर, एक धाराको अवधारणा लागू भइरहेको अवस्थामा देवघाट गाउँपालिकाका जनता खानेपानीको समस्याबाट तड्पिनु कुनै पनि हालतमा सह्य नभएको उनको भनाइ छ । सुन्तला उत्पादनबाट लिँदै आएको निकासी करमा भने कर लिने गरिए पनि नीतिअनुसार काम गर्दा स्थानीयबाटै सङ्कलित करलाई स्थानीयस्तरमै तत्काल खर्च गर्न सकिने व्यवस्था नरहँदा त्यसमा समस्या सिर्जना भएको उनले बताए । ‘निकासी हिजैदेखि लिँदै आएको विषय भएको हुँदा आगामी दिनमा त्यसलाई कसरी व्यवस्थित गराउने भनेर हामी छलफल गर्छौँ,’ उनले भने, ‘आगामी दिनमा समस्या नहोला ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुमगरले बिल भुक्तानीको विषयमा स्थानीयलाई भ्रममा नरहन आग्रह गरे । ‘कुनै पनि बिल भुक्तानीको लागि प्रकृया पुगेको भए तत्काल पाइन्छ, नपुगेको भए वर्षदिन लाग्न पनि सक्छ,’ उनले भने, ‘प्रकृया पूरा भएका बिल भुक्तानी हुन कहिल्यै रोक्दैन ।’ पालिकाबाट भए÷गरेका काम कर्तव्यमाथिको कमिकमजोरीमा सुझाव र प्रतिकृया दिएर सहयोग गर्न पनि उनले आग्रह गरे । ‘हामीबाट कमिकमजोरी नै नहुने भन्ने कुरा त हुँदैन । त्यस्तो अवस्थामा यहाँहरुले नै सुझाव दिने हो,’ उनले भने, ‘किनकि कुनै पनि कर्मचारीले काम नगर्ने नियत राख्दैन ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij