चितवन : दुग्ध उत्पादक किसानहरूका लागि राम्रो खबर आएको छ। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले दूधको उत्पादन, गुणस्तर, र बजारीकरण सुधार गर्न ‘मिल्की वे’ परियोजना सञ्चालनमा ल्याउने भएको छ।
संघका अध्यक्ष किशोर बगालेका अनुसार यो परियोजना दूध उत्पादनको लागत घटाउने, पशु स्वास्थ्य सुधार गर्ने, आधुनिक प्रविधि प्रयोग बढाउने, बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने र सफा तथा गुणस्तरीय दूध उत्पादनमा जोड दिनेछ।
हाल चितवनमा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमा १ लाख ५० हजार लिटर दूध बाहिरी बजारमा पठाइन्छ। किसानहरूले दूध उत्पादन गरे पनि मूल्य नपाउने समस्या झेल्दै आएका छन्। यो परियोजना कार्यान्वयनमा आएपछि लागत घट्ने र उत्पादन बढ्ने अपेक्षा गरिएको छ।
हेफर इन्टरनेशनलसँग सहकार्य गर्दै सञ्चालित यो परियोजनाले ११५ दुग्ध सहकारी संस्थाका किसानहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्नेछ। केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले दूधको लागत मूल्य घटाउन सकिए नेपाललाई दूधमा आत्मनिर्भर बनाउने सम्भावना रहेको बताए।
परियोजनाका निर्देशक डा. केशव शाहले नेपालको दुग्ध उद्योगलाई नयाँ युगमा प्रवेश गराउन ‘मिल्की वे’ परियोजना प्रभावकारी हुने विश्वास व्यक्त गरे। संघले अबको दुई महिनाभित्र किसानहरूलाई आवश्यक तालिम, प्रविधि र आर्थिक सहायताका कार्यक्रम सञ्चालन गर्दैछ।चितवनका दुग्ध किसानहरूलाई प्रतिस्पर्धात्मक बनाउन, उत्पादन वृद्धि गर्न, र गुणस्तरीय दूध बजारसम्म पुर्याउन यो परियोजना गेमचेन्जर बन्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij