रत्ननगर : रत्ननगर नगरपालिकामा ११५औं अन्तराष्ट्रिय महिला दिवसको अबसरमा प्रशिक्षणात्मक अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको कार्यक्रममा स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिकाले छोराछोरीलाई समान अंक दिने बुवाआमा, उद्यमी महिला र मन्टेश्वरी स्कुल सञ्चालन गरेर समाजमा उदाहरणीय बनेका चार जनालाई सम्मान गरेको छ । छोराछोरीलाई समान अंक दिएर समाजमा राम्रो छाप छोड्न सफल रत्ननगर वडा नं ७ निवासी भगवनीया महतोलाई सम्मान गरिएको छ । रत्ननगर वडा नं ६ बछौलीमा कृषि तथा पशुपालन गर्दै आएकी दुर्गा अधिकारी, वडा नं ९ मा शर्मा एग्रो प्रोडक्ट सञ्चालन गर्दै आएकी विन्दु शर्मा र रमाइलो बाल संसार मन्टेश्वरी प्रि स्कुल सञ्चालिका रमिला तिमिल्सिनालाई सम्मान गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि लुम्विनी प्रदेशकी सांसद निमा गिरी, रत्ननगर नगरपालिका मेयर प्रलाद सापकोटाले उनीहरुलाई माला, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । कार्यक्रममा महिला अधिकारको कार्यान्वयन र महिलाको राजनीतिक तथा सामाजिक पहुँचको विषयमा प्रशिक्षणात्मक अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा अधिबक्ता समेत रहेकी सांसद गिरीले महिला अधिकार, कार्यान्वयनको चरण र हिंसा तथा विभेद अन्त्यको लागि गरिएको प्रयासहरुको बारेमा सहजीकरण गरेकी थिइन् । सो अबसरमा बोल्दै सांसद गिरीले कार्यान्वय पक्ष फितलो हुँदा महिलाको पक्षमा बनेका कानुन प्रभावकारी हुन नसकेको तर्क गरिन । महिलाहरु निर्णायक तहमा पुग्न आत्मबल चाहिने भन्दै उनले त्यसका लागि एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिइन् ।

कार्यक्रमका विशिष्ट अतिथि मेयर सापकोटाले केन्द्र, प्रदेश र स्थानीय तहको नेतृत्व लिन सक्ने गरी आफुलाई विकास गर्न महिलाहरुलाई आग्रह गरे । रत्ननगर नगरपालिकाले महिलाहरुको अधिकार प्राप्ती र आयआर्जनको पाटोलाई संगसंगै अगाडि बढाएको उनको भनाई थियो ।
कार्यक्रममा महिला अधिकारकर्मी निता ढकाल, नगर स्तरीय एकल महिला समन्वय समितिकी अध्यक्ष गीता देवकोटा, नेपाली काँग्रेस रत्ननगरकी सचिव अनिता अर्याल, नेकपा माओवादी केन्द्रकी सीता नेपालले कानुन कार्यान्वय पक्ष फितलो हुँदा महिला माथि हुने दमनको अन्त्य हुन नसकेको बताएका थिए ।
नगर स्तरीय लक्षित बर्ग व्यवस्थापन समितिकी संयोजक बविता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १४ का वडाध्यक्ष होमनाथ रानाभाट, चेनतशिल आमा समुहकी अध्यक्ष लक्ष्मी पाण्डे, अग्रज महिला विकास साकोसकी पम्फा अर्याल लगायतले मन्तव्य राखेका थिए । महिला विकास अधिकृत दीप घिमिरेले सञ्चालन गरेको सो कार्यक्रममा लक्षित बर्ग व्यवस्थापन समितिकी सदस्य यशोदा पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij