Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

युवा व्यवसायी दाहालको जन्मदिनमा विद्यार्थीलाई किताब, आश्रममा भोजन

युवा व्यवसायी दाहालको जन्मदिनमा विद्यार्थीलाई किताब, आश्रममा भोजन

चितवन : नारायणगढका युवा व्यवसायी गुणराज दाहालले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थी र शिक्षकलाई पुस्तक उपलब्ध गराएका छन् भने आश्रममा भोजन व्यवस्था गरेका छन् ।दाहालले श्री पृथ्वी माध्यमिक विद्यालय कालिका नगरपालिका- ७ भटेनी, चितवनमा कक्षा ५ देखि ९ सम्म अध्ययनरत सबै विद्यार्थीलाई मुना, युवामञ्च, मधुपर्क र नारी पत्रिका उपलब्ध गराएका हुन् । दाहाल सोही विद्यालयका पूर्व विद्यार्थी हुन् ।

व्यवसायसँगै सामाजिक सेवामा अनवरत सेवारत दाहालले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीलाई पठनीय सामग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए।उनले विद्यार्थीलाई मुनालगायतका पत्रिकासँगै शिक्षकका लागि ६ थान श्रीमद्भागवतगीता र १२ थान शिक्षक मासिक पनि उपलब्ध गराए । जन्मदिनमा सेवामुलक र सिर्जनात्मक काम गर्दै आएका उनले आफूले दिएका यी पुस्तक तथा पत्रिकाको सहयोगमा शिक्षक, विद्यार्थी सबैमा ज्ञानको विस्तार हुने अपेक्षा लिएका छन् ।

पुस्तक वितरण कार्यक्रममा विद्यालयका सह प्रधानाध्यापक भवानी सिग्देल, प्राथमिक तह प्रमुख विष्णुलाल श्रेष्ठ र विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत लामिछाने पनि सहभागी थिए ।शिक्षक श्रेष्ठले मुनालगायतका यी पत्रपत्रिका विद्यार्थीका लागि अत्यन्तै उपयोगी भएकोले नियमितरूपमा पढ्न र सिर्जनात्मक क्रियाकलापमा अग्रसर हुन विद्यार्थीलाई आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुली र पठन संस्कृतिका अभियन्ता तथा सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले विद्यार्थीले पाठ्यक्रमका किताब सँगसँगै अतिरिक्त किताब पनि पढ्न जरुरी रहेको बताए ।`अतिरिक्त किताब पढ्ने र अतिरिक्त क्रियाकलापमा सहभागी हुने विद्यार्थीहरू , घरमा आमाबाबुलाई सघाउने विद्यार्थीहरू व्यवहारिक जीवनमा सधैं सफल र अब्बल हुन्छन्´, अभियन्ता सापकोटाले भने ।दाहालले जन्मदिन कै सन्दर्भमा बिहीबार श्रीरामजानकी बालिका आश्रम देवघाटधाम र मानव सेवा आश्रम नारायणगढमा रहेका आश्रितलाई एक दिनको भोजन गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट