सुनसरी : विराटनगर–धरान ६ लेन सडक आयोजनाअन्तर्गत सुनसरीको दुहबी बजारमा अतिक्रमण गरी बनेका संरचनाहरू हटाउन दुहबी नगरपालिकाले डोजर चलाएर करिब ५० घर भत्काएको छ।
नगरपालिकाले सडक विभागको समन्वयमा, बजार क्षेत्रको ६३० मिटर बिल्ट-अप एरिया भित्र पर्ने संरचनाहरू हटाउने अभियान चलाएको हो। सडकको दायाँबायाँ ६–६ मिटर सेट ब्याक कायम गर्नका लागि ७ वटा एक्स्काभेटर प्रयोग गरिएको थियो।
सर्वोच्च अदालतले स्थानीयहरूद्वारा दायर गरिएको रिट निवेदन करिब एक महिनाअघि खारेज गरेपछि सडक विभागले ३० दिनभित्र अतिक्रमित संरचना हटाउन सूचना जारी गरेको थियो। तर, सूचना अटेर गरेर बसेकाहरूका घर भत्काइएको दुहबी नगरपालिकाका नगरप्रमुख वेदनारायण गच्छदारले जानकारी दिनुभयो।“धेरै स्थानीयले आफैँ घर भत्काए पनि, केहीले अटेर गरेकाले बाध्य भएर हामीले बल प्रयोग गर्नुपर्यो,” नगरप्रमुख गच्छदारले भन्नुभयो।
घर भत्काउने क्रममा केही स्थानीयले अवरोध सिर्जना गर्ने प्रयास गरे पनि सुरक्षाकर्मीहरूको उपस्थितिले स्थिति नियन्त्रणमा लिइएको थियो। साना–ठुला गरेर करिब ५० घर हटाइएको छ, जसले सडक विस्तार कार्यमा सहजता आउने नगरप्रमुख गच्छदारको विश्वास छ।दुहबी नगरपालिकाले विकास आयोजनाका लागि आवश्यक पर्ने संरचना व्यवस्थापनमा नागरिकहरूको सहकार्य आवश्यक रहेको बताउँदै, नगर प्रमुख गच्छदारले बताउनुभयो !
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij