Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

वित्तीय शोषणविरुद्ध ९ वटा संगठनद्वारा संघर्षको घोषणा

वित्तीय शोषणविरुद्ध ९ वटा संगठनद्वारा संघर्षको घोषणा

काठमाडौँ : वित्तीय शोषणविरुद्ध विभिन्न ९ वटा संगठनहरुले संयुक्तरुपमा संघर्षको घोषणा गरेका छन् । बिहीबार काठमाडौँको संवाद डबलीमा पीडितहरूले पत्रकार सम्मेलनको आयोजना गरी चैत १७ गतेदेखि काठमाडौँमा विशाल प्रदर्शनसहित निर्णायक आन्दोलनको घोषणा गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलभ केसीले वर्षौँसम्म पनि सरकारले वित्तीय शोषण गर्ने संस्थाहरूलाई कारबाही पनि नगर्ने र पीडितहरूलाई न्याय पनि नदिएको भन्दै आक्रोश व्यक्त गरे । विभिन्न पीडित संगठनहरुको संयुक्त आन्दोलन अबको समयमा निर्णायक बन्ने विश्वास लिँदै भने,“मैले पीडितको पक्षमा आन्दोलन गर्दै गर्दा देश द्रोहीलाई जस्तै व्यवहार गरियो, राज्यबाटै हत्याको प्रयास भयो, यो शरीर पीडितहरूका लागि भयो, मारे भने मेरो लास सिंहदरबारको गेट अगाडी जलाइदिनु, मलाई मार्ने जनविरोधीलाई पनि ज्यूँदो नछाड्नु ।”

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति अध्यक्ष मनिराम ज्ञवालीले पीडितहरू न्यायका लागि निरन्तर संघर्षमा रहँदा पनि सरकारले नसुनेको र उल्टै पीडितहरूलाई नै दमन गर्न थालेको भन्दै आक्रोश व्यक्त गरे । आफूहरूको संगठनसहित विभिन्न संगठनहरुको संयुक्त लडाइँले सरकारलाई जसरी पनि घुँडा टेकाएर न्याय खोसेरै छाड्ने उद्घोष गरे ।

वित्तीय पीडितहरूको आन्दोलनलाई साथ दिने प्रतिबद्धता जाहेर गर्दै पूर्व आईजीपी सर्वेन्द्र खनालले सबै किसिमका वित्तीय पीडितहरू एक ठाउँमा आउन आग्रह गरे । सहकारी, लघुवित्त तथा मिटरब्याजीलगायतका सबै पीडितहरूको न्यायको बाधक सरकार नै भएको खनालले आरोप लगाए ।

वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले पीडितहरूको न्यायका लागि सरकारले आवश्यक रकमको कोष खडा गरेर उनीहरूलाई भुक्तानी गर्ने तथा अपचलन गर्ने संस्था र व्यक्तिलाई कारबाहीको दायरामा ल्याएर असुल गर्न सकिने सुझाव दिए । डा.भण्डारीले वित्तीय शोषणकर्ताहरूलाई संरक्षण गर्ने नेता, पार्टी तथा सरकारी उच्च ओहोदामा भएका व्यक्तिहरूलाई नागरिक विरोधीको घोषणा गर्नुपर्ने सुझाव दिए ।

भण्डारीले काठमाडौँमा हुने निर्णायक आन्दोलनमा उपत्यका बाहिरबाट आउने आन्दोलनकारीहरू मध्ये ५ जना जतिलाई खाना र बस्ने व्यवस्थापन आफ्नै घरमा गर्ने घोषणासमेत गरे । उनले आन्दोलन समयभरि काठमाडौँमा बसोबास गर्ने पीडितहरूले पनि आफ्नो घरमा ५/५ जनाको दरले व्यवस्थापन गर्न सुझाए ।

सत्य र न्यायको खोजी अभियानका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले सहकारी तथा लघुवित्त शोषणविरुद्धको आन्दोलनलाई राजधानी केन्द्रीकृत बनाउनु पर्ने सुझाए । श्रेष्ठले आवश्यक परे आफूले आफ्नो ल फर्मलाई पीडितहरूलाई आन्दोलनको समयमा बस्नका लागि व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । पूर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार तथा अवकाश प्राप्त उपरथी होमनाथ दवाडीले वित्तीय समस्याबाट प्रताडित जनताको आन्दोलनमा आफूहरूको ऐक्यबद्धता जाहेर गरे ।

मिसन नेपालका अध्यक्ष तथा अवकाश प्राप्त डिएसपी कृष्ण प्रसाद शर्माले अहिलेका नेताहरूको कारण देशको विश्वमा बेइज्जत भएको बताउँदै भने,“डोनाल्ड ट्रम्पले ठगको देश, भारतले भिखारीको देश र चीनले भ्रष्टाचारीको देश भनेर दुत्कारी रहेका छन्, यसको दोषी यी नेताहरू ।” लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले ३८ महिनादेखि निरन्तर संघर्ष गर्दा पनि नसुन्नुले सरकार पीडकको पक्षमा रहेको पुष्टि भएको बताए ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का केन्द्रीय कोषाध्य देव कुमार श्रेष्ठले सहकारीमा रहेको जनताको खरबौँको निक्षेप सरकारको संरक्षणमा पीडकहरूले पचाउने षड्यन्त्र भएको आरोप लगाए ।

वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनका संयोजक रमेश तामाङले आफूहरूले अब निर्णायक आन्दोलन गर्ने बताए । उनले मिटरब्याजी समस्या अहिले पनि यथावत् रहेकाले मिटरब्याजी जाली तमसुकहरू रद्द गरे मात्रै पीडितले न्याय पाउने बताए । संयुक्त उद्योगी व्यवसायी तथा कृषक संघका संयोजक आरबी सदा शङ्करले राष्ट्र बैंकको गलत नीतिका कारण आफूलगायत पीडितहरूलाई १० करोडको जग्गा ३ करोडमा लिलाम गराई रोडमा पुर्‍याएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij