Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

प्रेम रावतद्वारा पुस्तक वाचनमा ‘नयाँ विश्व रेकर्ड’ कायम

प्रेम रावतद्वारा पुस्तक वाचनमा ‘नयाँ विश्व रेकर्ड’ कायम

भरतपुर : अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लेखक प्रेम रावतले जे.के. रोलिङको पुस्तक वाचनको विश्व रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेका छन् । भारतीय लेखक विपुल रिखीसँगको संयुक्त कार्यक्रममा मिर्जापुरस्थित राजविद्या केन्द्रमा एक लाख ३३ हजार २३४ जना स्रोतासमक्ष उनले आफ्नो नयाँ पुस्तक ‘श्वासः जीवन के प्रति जागरुक होँ’ को अंश वाचन गरेका थिए । यो रेकर्ड सन् २००० मा जे.के. रोलिङ र अन्य दुई क्यानेडियन लेखकद्वारा कायम गरिएको २० हजार २६४ जनाको रेकर्डभन्दा एक लाख १३ हजार जनाले बढी हो ।

यो कार्यक्रम ‘बहुलेखकद्वारा पुस्तक वाचन’ को रूपमा आयोजना गरिएको थियो, जहाँ रावतसँगै विपुल रिखीले पनि आफ्नो पुस्तक ‘ड्रङ्क अन लभ’ बाट कबीरका कविताहरूको अंश वाचन गरे । रावतले आफ्नो पुस्तक अंश यसरी वाचन गरे : ‘श्वास तपाईंभित्र आउँछ अनि तपाईं जीवित हुनुहुन्छ । यो सिङ्गो ब्रह्माण्डमा व्याप्त शक्ति नै तपाईंभित्र श्वासका रूपमा आउँछ अनि तपाईंलाई जीवन दिन्छ ।’

रिखीले कबीरको यो दोहा सुनाएः ‘श्वास श्वास मेँ नाम ले विरथा श्वास मत खोये, ना जाने इस श्वास का फिर आवन होये ना होये।’ यो प्रेम रावतको तेस्रो गिनिज विश्व रेकर्ड हो । सन् २०२३ मा उनले एकल लेखकद्वारा सर्वाधिक सहभागिता एक लाख १४ हजार ७०४ जना भएको पुस्तक वाचन र सर्वाधिक दर्शक तीन लाख ७५ हजार ६०३ जना भएको प्रवचनको रेकर्ड बनाएका थिए । राजविद्या केन्द्र र ‘वर्डस अफ पिस ग्लोबल’ का प्रवक्ता लोहित शर्माले यो कार्यक्रमको भव्य सफलताप्रति उत्साहित हुँदै रावतको शान्ति र आशाको सन्देशको प्रभावकारितालाई जोड दिएका थिए ।

प्रेम रावत बाल्यकालदेखि नै असाधारण प्रतिभा देखाउने गर्दथे । उनी हाल न्युयोर्क टाइम्सको सर्वाधिक बिक्री हुने पुस्तकका लेखक, शान्तिदूत र गिनिज विश्व रेकर्ड धारक हुन् । उनको ‘स्वयम् की आवाज’ (हियर योरसेल्फ) पुस्तक विश्वभर लोकप्रिय छ भने ‘शान्ति शिक्षा कार्यक्रम’ ८७ देशमा सञ्चालित छ । उनी एक लेखक मात्र नभई आविष्कारक, संगीतकार, कलाकार, फोटोग्राफर र पाइलट पनि हुन् । विपुल रिखी लेखक, गायक, कवि, कथाकार र अनुवादक रिखी कबीर र अन्य भक्ति कविहरूको मौखिक परम्परासँग जोडिएका छन् । उनको ‘ड्रङ्क अन लभ’ पुस्तक कबीरका कविताहरूमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट